काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले संचालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली(नट्स)को प्लेटफर्ममा अब ऋणपत्रको कारोबार समेत गर्न सकिने भएको छ । 

नेप्सेले ऋणपत्रको कारोबार समेत नट्समार्फत गर्न सकिने व्यवस्था गरेसँगै यस्तो कारोबार समेत भइसकेको प्रष्ट पारेको छ । 

पुस ९ गते नट्समार्फत संस्थागत ऋणपत्रको दुईवटा कारोबार भएको नेप्सेले जनाएको छ । 

पहिलो कारोबारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ बिक्रेता र एनएमबी हाइब्रीड फण्ड खरीदकर्ता रहने गरी '१०% सानिमा डिवेञ्चर-२०८५' को २५ हजार कित्ता ऋणपत्र किनबेच भएको छ । 

यसैगरी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ बिक्रेता र एनएमबी ५० खरीदकर्ता रहने गरी '१०% सानिमा डिवेञ्चर, २०८५' को २५ हजार कित्ता ऋणपत्र समेत किनबेच भएको नेप्सेले जनाएको छ । 

यी दुई कारोबारबाट जम्मा ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता रु. ९६३ को दरले रु. ४ करोड ८१ लाख ५० हजार बराबरको कारोबार भएको हो ।

नेप्सेमा ऋणपत्रको यस्तो कारोबार यो नै पहिलो भने होइन । यसअघि २०७६ असार १ गते पनि दुईवटा कारोबारमा '१०% सानिमा डिवेञ्चर-२०८५' को ४२ कित्ता किनबेच भएको थियो । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले ऋणपत्रको खरीदबिक्री अब संभव भएको उल्लेख गर्दै आफूसँग भएका युनिट बिक्री वा खरीद गर्नुपरेमा ब्रोकरकोमा सम्पर्क राख्नुपर्ने र ब्रोकरसँगको समन्वयमा ऋणपत्र खरीदबिक्रीको व्यवस्था नेप्सेले मिलाउने जानकारी दिए । 

दोश्रो बजारमा साधारण तथा संस्थागत सेयरको कारोबारकै शैलीको सिस्टम भने अहिले नै विकास भइसकेको छैन । ऋणपत्रको बजार अझै बिस्तार भएपछि त्यस्तो सहज प्रणालीको समेत विकास गरिने नेप्सेका अधिकारी बताउँछन् ।