काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। 

संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो। 

सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समय सकिन लाग्दा कांग्रेसले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा  वर्तमान सत्ता गठबन्धनमा रहेका दलले पनि नया सरकार गठनमा समर्थन गर्ने आश्वासन दिएका छन्। 

नेकपा माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन्। त्यसअनुसार बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसदको समर्थन रहनेछ। यो खबर आजको नागरिकमा छापिएको छ ।