काठमाण्डौ । नवील बैंक लिमीटेड र २ बिमा कम्पनीले मंगलबार(असोज १० गते) वार्षिक साधारणसभा गर्दैछन् । नबील बैंकले आजको साधारणसभाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरी दशैंको अवसरमा लगानीकर्तालाई खुशी बनाउँदैछ भने नेको इन्स्योरेन्सले बोनस सेयर र हकप्रद तथा एनबी इन्स्योरेन्सले हकप्रद निश्कासनको प्रस्ताव पारित गर्दैछन् । 

नबील बैंक लिमीटेडले आज कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ३३ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । साधारणसभामा ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित हुँदैछ । यस्तै, अधिकृत पूँजी समेत बढाएर १० अर्ब पुर्याउने अर्को प्रस्ताव समेत पारित हुने बताइएको छ । 

गत आर्थिक वर्षको वासलात पारित गर्ने यो एजीएममा भदौ २६ गतेसम्म नबील बैंकको सेयर खरीद गरेका तथा नामसारी गरेकाहरुले मात्र सहभागी हुन पाउनेछन् । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ३ अर्ब ६५ करोड खूद नाफा आर्जन गरेको थियो । हाल यसको चुक्तापूँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयरपछि चुक्तापूँजी ८ अर्ब ३ करोडको उचाईमा पुुग्नेछ । 

उता, नेको इन्स्योेरेन्सले नेपाल टुरिजम बोर्ड(भृकुटीमण्डप)मा आफ्नो २२ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । साधारणसभाबाट १० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने बताइएको छ । भदौ २८ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । यो कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड खूद नाफा आर्जन गरेको थियो । हाल यसको चुक्तापूँजी ७१ करोड २८ लाख रहेको छ । १० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी १ अर्ब १७ करोड पुुग्नेछ । 

यसैगरी, एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले समेत मंगलबार नै आफ्नो २० औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांग्वेटमा यसको एजीएम हुँदैछ । जहाँ अधिकृत पूँजी बढाएर २ अर्ब पुर्याउने, चुक्तापूँजी वृद्धिका लागि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्ताव पेश हुँदैछन् । भदौ २४ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र साधारणसभामा सहभागी हुन पाउने बताइएको छ । एनबी इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १० करोड ९ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर ४८ करोड ६ लाखको उचाईमा पुुग्नेछ ।