काठमाण्डौ । नयाँ आर्थिक वर्षमा बजारले धमाकेदार इन्ट्री हानेको छ । नयाँ आर्थिक वर्ष २०७६/७७ को पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको हो । 

यो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर १२७४.८६ को विन्दूमा पुगेको छ भने ४२ करोड ६७ लाख बढीको कारोबार भएको छ । 

पुरानो आर्थिक वर्षको अन्तिम महिना असारमा हुने कर तथा ब्याजको बाध्यता हटेसँगै लगानीकर्ताहरु सलबलाउन थालेका थिए । केही लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका भए पनि कतिपय लगानीकर्ता भने अब बजार बढ्ने विश्वाससहित खरीदारीमा सक्रिय बन्न थालेका छन् । जसको प्रभाव बजारमा देखिएको छ । 

साउन लागेलगत्तै सूचिकृत कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरण आउने र सो विवरणका आधारमा सम्बद्ध कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गर्ने लाभांश दर लगभग सुनिश्चित हुने भएकोले समेत लगानीकर्ता चलमलाउन थालेका हुन् । वाणिज्य बैंक र विकास बैंकहरुले राम्रो नाफा कमाउने देखिएका कारण यी कम्पनीमा खरीद चाप देखिएको छ । 

बैंकिङ समूहमा १६.६९ अंकको बढोत्तरी भएको छ । विकास बैंक समूहमा २७.३५ अंकको बढोत्तरी भएको यो दिन जलविद्युत समूहमा १८.७३ अंक, माइक्रोफाइनान्स समूहमा २५.९८ अंक, जीवन बिमा समूहमा ४६.६९ अंक, निर्जीवन बिमा समूहमा ५५.०२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३५.२८ अंक, र अन्य समूहमा २.९२ अंकको बढोत्तरी भएको छ । 

यो दिन होटल समूह २७.२ अंकले घटेको छ भने बित्त समूहमा १.६२ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता सेयर ४२ करोड ६७ लाख ४३ हजार ४५८ रुपैयाँमा किनबेच भयो । 

नेपाल बैंकले ४ करोड ७५ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९५ लाख, शिवम सिमेन्टले २ करोड ४१ लाख, अपर तामाकोशीले २ करोड १३ लाख बढीको कारोबार गरे । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले १ करोड ४१ लाख, लुम्बिनी विकास बैंकले १ करोड ४० लाख, ओरिएन्टल होटल लिमीटेडले १ करोड ३८ लाख बढीको कारोबार गरे । 

सिभिल बैंकको १ करोड ३५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा डिप्रोक्स लघुवित्तले १ करोड २४ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढ्यो ।

सिभिल लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो ।