काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा कतिपय बैंकहरुबीच विजिनेश खोसाखोसको जात्रा चल्यो, चलिरहेकै छ । यो अवधिमा ठूला भनिएका कतिपय वाणिज्य बैंकहरु समेत निक्षेप र कर्जा परिचालनमा कमजोर देखिए । तर, यो अस्तव्यस्त र अन्यौलपूर्ण भनिएको अवधिमा केही सानो साइजका बैंकहरुले भने विजिनेशमा अपत्यारिलो ग्रोथ गरेका छन् । संकटका बेला ‘मै हूँ’ भन्ने बैंकहरुलाई समेत ती बैंकहरुले चुनौति दिएका तथ्याङ्कले देखाएको छ । 

असार ३१ देखि भदौ २६ गतेको अवधिमा निक्षेप संकलन र कर्जा परिचालनतर्फको ग्रोथमा कान्छो वाणिज्य बैंक सेञ्चुरीले निकै उत्साहप्रद काम गरेको देखिएको छ । करिब २ महिनाको यो अवधिमा सेञ्चुरी बैंक निक्षेप संकलन र कर्जा परिचालनमा ग्रोथको हिसाबले टप फाइभ बैंकमा पर्न सफल देखिएको छ । सेञ्चुरीसँगै सिभिल बैंक पनि विजिनेश ग्रोथमा अगाडि देखिएको छ ।  

नेपाल राष्ट्रबैंकको एक तथ्याङ्कअनुसार यो अवधिमा सेञ्चुरी कमर्सियल बैंकले ७ अर्ब ६६ करोडले निक्षेप बढाएको छ । यो भनेको समग्र २७ वाणिज्य बैंकमध्ये तेश्रो पोजिशन हो । यो अवधिमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले २१ अर्ब ७३ करोड निक्षेप बढाएको देखिएको छ भने दोश्रो स्थानमा एभरेष्ट बैंक रहेको छ । उसले ८ अर्ब १८ करोडले निक्षेप बढाएको छ । 

सेञ्चुरी बैंकपछि सिभिल बैंकले समेत यो अवधिमा ७ अर्ब ४४ करोडले निक्षेप वृद्धि गरेको छ । यो अवधिमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ६१ करोड, हिमालयन बैंके ४ अर्ब ४७ करोड, एनएमबी बैंकले ४ अर्ब ३५ करोड, नेपाल एसबीआई बैंकले ३ अर्ब ३७ करोड, सिटिजन्स बैंकले २ अर्ब ७६ करोड, इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६७ करोड र माछापुच्छ्रे बैंकले ३७ करोडले निक्षेप बढाएको छ । 

यो अवधिमा बाँकी १६ वाणिज्य बैंकको निक्षेपतर्फको ग्रोथ भने नेगेटिभ देखिएको छ । सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप  १३ अर्ब ११ करोडले घटेको छ । 

नवीलको निक्षेप करिब ८ अर्ब घटेको छ भने नेपाल बैंकको ६ अर्ब ६४ करोड, कृषि विकास बैंकको ६ अर्ब ४५ करोड, मेगा बैंकको ६ अर्ब ३८ करोड, प्राइम बैंकको ४ अर्ब ३१ करोड, नेपाल बंगलादेश बैंकको ४ अर्ब २५ करोड, स्ट्याण्डर्ड चार्टर्डको २ अर्ब २२ करोड, सानिमा बैंकको २ अर्ब २० करोड, एनसीसी बैंकको १ अर्ब ६२ करोड, कुमारी बैंकको १ अर्ब ३३ करोड, सनराइज बैंकको १ अर्ब १४ करोड, बैंक अफ काठमाण्डूको ७४ करोड, प्रभू बैंकको ६९ करोड, लक्ष्मी बैंकको १७ करोड र सिद्धार्थ बैंकको १५ करोडले निक्षेप घटेको छ । 

कर्जा परिचालनतर्फ पनि सेञ्चुरी बैंक र सिभिल बैंकको ग्रोथ राम्रो देखिएको छ । प्रणालीमा अधिक तरलता भएको अवस्थामा यी बैंकले स्रोत समेत थपेर लगानीको क्षेत्र संकुचन भएकै अवस्थामा पनि राम्रो ढंगले कर्जा प्रवाह गरेका छन् । 

समीक्षा अवधिमा सेञ्चुरी बैंकले ३ अर्ब ४७ करोडले कर्जा बढाएको छ । सिभिल बैंकले पनि १ अर्ब १६ करोडले कर्जा बढाएको देखिन्छ । 

सबैभन्दा बढी एनआइसी एशियाले १७ अर्ब कर्जा बढाएको छ । एनएमबी बैंकले ७ अर्ब ४७ करोडले कर्जा बढाउँदा प्रभू बैंकले पनि ६ अर्ब २२ करोडले कर्जा परिचालन बढाएको छ । 

नवील बैंकले ४ अर्ब ९२ करोडले कर्जा बढाएको देखिन्छ भने इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४२ करोड, मेगा बैंकले २.१२ करोडले कर्जा बढाएका छन् । 

यो अवधिमा कर्जा परिचालनतर्फ सबैभन्दा ठूलो डिक्लाइन नेपाल एसबीआईमा देखिएको छ । यो बैंकको ६ अर्ब ५३ करोडले कर्जा घटेको छ । 

यस्तै, कुमारी बैंकको ५ अर्ब ५४ करोड, ग्लोबल आइएमई बैंकको ५ अर्ब ३७ करोड, एभरेष्ट बैंकको ३ अर्ब ७६ करोड, बैंक अफ काठमाण्डूको ३ अर्ब ४० करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब २७ करोड, हिमालयन बैंकको ३ अर्ब १९ करोड, कृषि विकास बैंकको २ अर्ब ९६ करोड, एनसीसी बैंकको २ अर्ब ३० करोड, सिद्धार्थ बैंकको २ अर्ब १० करोड, नेपाल बैंकको १ अर्ब ६० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ३७ करोड, नेपाल बंगलादेश बैंकको १ अर्ब २० करोड, सिटिजन्स बैंकको १ अर्ब १७ करोड, लक्ष्मी बैंकको २५ करोड, प्राइम बैंकको ६ करोडले कर्जा घटेको छ । 

सिटिजन्स लगायतका केही बैंकहरुको आधार दर बढी भएका कारण ब्याजदर महङ्गो पर्ने हुँदा आधारदर कम भएका बैंकहरुले ऋण तानिदिएका कारण कर्जा घटेको देखिएको हो । कर्जाको कम ब्याजदर कायम गरेका बैंकहरुले बढी ब्याजदर रहेका बैंकका ऋणिहरुलाई अस्वस्थ ढंगले तानिइरहँदा समेत करिब २ महिनाको अवधिमा केही फरक खालको परिदृश्य देखिएको एक बैंकर बताउँछन् । ‘नेपाल बैंकर्सं संघमा विजिनेश खोसाखोसको गुनासो दैनिकजसो जाने गर्छ, तर सुनुवाई हुँदैन ।’ ती बैंकरले भने–‘ग्राहकको हिसाबले हेर्दा चाहिँ उसले जहाँ कम ब्याज तिर्नुपर्छ, त्यही विजिनेश सिफ्ट गर्ने कुरा स्वभाविक नै हो । तर, बैंकहरुबीचको आपसी लडाई चाहिँ अलिक अस्वस्थ देखियो ।’

पछिल्लो समय ठूला बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर घटाएर न्यून विन्दूमा झारिइसकेका छन् । जसका कारण त्यस्ता बैंकहरुमा निक्षेप राख्नेको संख्या घटेको छ । यसको सोझो फाइदा बढी ब्याज अफर गरिरहेका बैंकहरुलाई भएको छ । जस्तो १६ महिने अवधिको व्यक्तिगत मुद्धति निक्षेपमा सेञ्चुरी बैंकले उद्योगकै सर्वाधिक ९ प्रतिशतसम्म ब्याज अफर गरिरहेको छ । यसले समेत अन्य बैंकबाट पैसा सार्नेको लहर देखिएको छ । 
यस्तै, सिभिल बैंकले पनि मुद्धती निक्षेपमा ८.७५ प्रतिशतको ब्याज अफर गरिरहेको छ । यसले समेत ठूला भनिएका बैंकहरुमा ५ प्रतिशत पनि मुश्किलले पाइरहेका ग्राहकहरुले आफ्ना निक्षेप बढी ब्याज पाउने बैंकहरुमा सारिरहेका बैंकरहरु बताउँछन् ।