काठमाण्डौ । आर्थिक वर्षको अन्तमा कर र ब्याजको बाध्यता टरेसँगै लगानीकर्ता सेयर खरीदारीमा सक्रिय बन्न थालेका छन् । 

घाटामै भए पनि सेयर बिक्री गरेर कर र ब्याज तिर्नैपर्ने बाध्यता हटेपछि बजारमा चमक फर्किने संकेत देखिएको हो । 

यहीकारण सोमबारको बजार परिसूचक(नेप्से) ५.०८ अंकले बढेर १२५४.५६ को विन्दूमा फर्किएको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत बढेर ४३ करोड माथि पुगेको छ । 

यसरी कारोबार रकम र नेप्से परिसूचक समानान्तर ढंगले बढ्नुलाई बजारको सुखद संकेतको रुपमा लिइन्छ । तर, यो प्रवृति केही दिनसम्म कायम रहेमा मात्र बजारमा चमक आउँछ भन्ने कुरा भन्न सकिन्छ । यस्तो प्रवृतिलाई बजार बुलिस प्रवृतिमा कुद्ने पूर्वतयारीको रुपमा विश्लेषकहरु बुझ्ने गर्छन् । 
कर र ब्याजको गर्जो टरे पनि मौद्रिक नीतिको प्रतिक्षाका कारण बजार भनेजसरी चलायमान भने हुन सकेको छैन । 

सोमबार चमक फर्किने संकेतसँगै बजार हराभरा भएको छ । सबै उपसमूहको सूचकमा हरियो रंग पोतिएको छ । 

राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप हुँदा सेन्सेटिभ इण्डेक्स १.७१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३३ अंकको बढोत्तरी भएको छ । 

यो दिन होटल समूह र म्युचुअल फण्ड समूहका सेयरको मूल्य सबैभन्दा धेरै बढ्यो । होटल समूह १.१९ प्रतिशत र म्युचुअल फण्ड समूह १.३६ प्रतिशतले बढे । 

यो दिन बैंकिङ समूह २.७६ अंकले बढ्यो भने विकास बैंक, बित्त कम्पनी, माइक्रोफाइनान्समा क्रमशः ३.७, २.९५ र ४.७१ अंकको बढोत्तरी भयो । 
जलविद्युत समूह १४.८३ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह १५.६५ अंक, जीवन बिमा समूह २०.५५ अंक, उत्पादन तथा प्रशोधन समूह ३६.६९ अंक र अन्य समूह ३.२६ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका २९ लाख ७३ हजार ८४३ कित्ता सेयर ४३ करोड ५ लाख २५ हजार ९१७ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले ५ करोड २१ लाख बढीको कारोबार गर्यो । शिवम सिमेन्टले ३ करोड ५९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५४ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

नवील बैंकले २ करोड ४८ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफले २ करोड ३३ लाख, एनआइसी एशियाले २ करोड ६ लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले १ करोड ६१ लाख, अपर तामाकोशीले १ करोड ५८ लाख, चिलिमे हाइड्रोले ९८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढ्यो । एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समेत ५ प्रतिशतकै हाराहारीमा वृद्धि भयो । 

यो दिन नवील बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ३.१५ प्रतिशतले घट्यो ।