काठमाण्डौ । प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएलगत्तै तथा बाम गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेसँगै बजारमा दोहोरो अंकको वृद्धि भएको छ । 

निर्वाचनपछि लगातार घटिरहेको बजारमा बुधबार दोहोरो अंकको वृद्धि देखिएको हो । बजारको बिक्री चाप घटेर खरीद चाप बढेका कारण नेप्से परिसूचक १०.५३ अंकको वृद्धि भएको हो । नेप्से परिसूचक १५२०.७४ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम ४८ करोड ५९ लाख माथिको उचाईमा पुुगेको छ । कारोबार रकम घटे पनि नेप्से परिसूचक बढ्नुले बजारमा बिक्रीको चाप निकै घटेको बुुझ्न सकिन्छ । 

प्रत्यक्ष निर्वाचनको मतगणना लगायतका काममा कतिपय लगानीकर्ता व्यस्त हुँदा समेत बजारमा त्यसको नकारात्मक प्रभाव परेको थियो । यसको अर्थ अब लगानीकर्ता बिस्तारै बजारमा फिर्ता हुन थालेलगत्तै बजारमा उछाल नै आउनसक्छ भन्नुु हतारो हुनेछ । नयाँ सरकारले लिने आर्थिक नीति लगायतका महत्वपूर्ण बिषयहरुले बजारको सुखद भविष्य निर्धारण गर्नेछ । 

यो दिन बजारका सबै समूहको सूचकमा बढोत्तरी भएको छ । बैकिङ समूह ८.१५ अंकको वृद्धि भएको छ भने बिमा समूहको सूचकमा ५२.४८ अंकको बढोत्तरी भएको छ । होटल, जलविद्युत, विकास बैंक, माइक्रोफाइनान्स समूह क्रमशः ३८.०९, ९.८२, ५.७३ र १४.५६ अंकले वृद्धि भएको छ । 
व्यापारिक समूह २.४५ अंक, बित्त समूह १.९४, उत्पादनमूलक ३२.८१ अंक र अन्य समूह भने १०.४१ अंकले वृद्धि भयो । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स २.२ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ०.७३ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कुल १ सय ६४ कम्पनीका १० लाख ४३ हजार ८ सय ८७ कित्ता सेयर ४८ करोड ५९ लाख ११ हजार २ सय ९८ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ५ करोड ४० लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ७१ लाख बढीको कारोबार भएको बजारमा राष्टिय बिमा कम्पनी लिमीटेडको २ करोड ६६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल टेलिकमले २ करोड २४ लाख बढीको कारोबार भएको बजारमा प्राइम कमर्सियल बैंकले १ करोड ९१ लाख, राष्टिय बिमा कम्पनीले १ करोड ७९ लाख(साधारणस सेयरतर्फको कारोबार) बढीको कारोबार गर्यो । सिद्धार्थ बैंकको १ करोड ३७ लाख बढीको कारोबार भएको बजारमा चिलिमे हाइडोले १ करोड ३३ लाख, एभरेष्ट बैंकले १ करोड २९ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कुबेर मर्चेन्ट फाइनान्स लिमीटेड र ललितपुर फाइनान्सका सेयरधनीले मालामाल भए । यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

यो दिन प्रोग्रेसिभ फाइनान्स र खानीखोला हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट भयो ।