काठमाण्डौ । धेरै दिनसम्म गायब भएको बजारको चमक फर्किने संकेत देखिएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नुलाई बिश्लेषकहरु शुुभ संकेतको रुपमा बुुझ्ने गर्छन् । तर, बुधबारको कुल कारोबारमा कम्पनीहरुको संस्थापक सेयरको कारोबार बढी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने र अबको केही दिनभित्रै नयाँ सरकार गठन हुने खबरले लगानीकर्तामा उत्साह देखिएको हो । लामो समयसम्म राजनीतिक घटनाक्रमलाई पर्ख र हेरको रणनीतिका साथ मूल्यांकन गरेर चूपचाप बसेका लगानीकर्ता समेत बुधबारबाट सलबलाउन थालेका देखिएको विश्लेषकहरु बताउँछन् । उनीहरुले सरकार गठनसँगै बजारमा बढोत्तरीको युुग सुरु हुने भन्दै संयम भएर सेयर खरिदारी बढाउन लगानीकर्ताहरुलाई सुुझाव दिएका छन् । ‘सेयर किन्ने यो भन्दा उपयुक्त बेला सायद आउनेछैन ।’ एक विश्लेषक तथा अनुुभवी ब्रोकरले बिजशालासँग भने–‘नयाँ सरकार गठनपछि बजार पछि फर्किदैन, यो बेला नकिन्ने र बिक्री गर्नतिर लाग्नेहरु पछुताउनेछन् ।’ यी विश्लेषक कम्पनीको अवस्था हेरेर तथा बित्तीय स्वस्थताको राम्रो जाँच गरेर राम्रा कम्पनीको सेयर सस्तोमा उठाउनुपर्ने बताएका छन् । 

यो दिन बजार परिसूचक ८.६५ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ३८ करोड ६४ लाखको उचाईमा पुुगेको छ । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीमा तीनवटा कम्पनीको संस्थापक सेयर समेटिएको छ । यी तीन कम्पनीको संस्थापक सेयर मात्र साढे १२ करोड भन्दा बढीको कारोबार भएको देखिएको छ । 

यो दिन बित्त समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको छ । बित्त समूह २.७९ अंकले घटेको छ भने उत्पादनमूलक ५.३५ र अन्य समूह १.५४ अंकले घटेका छन् । 

तर, बैकिङ समूह ५.६१ अंकले, बिमा समूह १२१.५२ अंक, विकास बैंक समूह २.७२ अंक, माइक्रोफाइनान्स समूह २०.५५ अंकले बढेको छ । 

यस्तै, होटल समूह १०.३२ अंक, व्यापार समूह ०.२६ अंक, जलविद्युत समूह १८.२ अंकले बढेका छन् ।

यो दिन ‘क’ वर्गका कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेका कारण सेन्सेटिभ इण्डेक्स १.५१ ऋंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.६६ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ९ लाख ३१ ह्जार २ सय १६ कित्ता सेयर ३८ करोड ६४ लाख ८६ हजार २ सय ८ रुपैयाँ किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५० लाख बढीको संस्थापक सेयर कारोबार भयो । यस्तै, प्रभू बैंकले ५ करोड ३१ लाख बढीको कारोबार गर्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५१ लख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । प्रूडेन्सियल इन्स्योरेन्सको १ करोड ७५ लाख बढीको सेयर कारोबार भएको बजारमा नवील बैंकले १ करोड २६ लाख, नेपाल लाइफले १ करोड २० लाख, इन्भेष्टमेन्ट बैंकले ९९ लाख, कुमारी बैंकले ९० लाख, नेपाल बैंकले ८९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरएसडिसी लघुवित्तका सेयरधनी मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । यस्तै, प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ७.५ प्रतिशतले बढ्यो । 

कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको मूल्य ५.२१ प्रतिशतले घट्यो । ङादी ग्रुप पावर लिमीटेडको मूल्य पनि ४.२७ प्रतिशतले घट्यो ।