-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले पुरानो वेबसाइटलाई परिमार्जन गरेर अन्तर्राष्ट्रिय स्तरको अपडेटेड वेबसाइड लञ्च गर्ने भएको छ।

नेप्सेले यही साता नयाँ वेबसाइटको फिडब्याकका लागि हाल सञ्चालनमा आइरहेको वेबसाइटमा लिंकसहित पठाउने तयारी गरिरहेको जानकारी दिएको हो । फिडब्याकका लागि १ हप्ता समय दिइने र आएका राम्रा सुझावहरुका आधारमा थप परिमार्जन गरी नयाँ वेबसाइट लञ्च गरिने योजना रहेको नेप्सेको भनाइ छ ।

बिटा भर्सन(परीक्षणकाल) सेसनमा रहेको नयाँ वेबसाइटको बायाँ भागमा नेप्से ग्राफ, घटबढ र तटस्थ कम्पनीको जानकारी र पुच्छरमा कर्पोरेट डिस्क्लोजर वा नोटिस रहने छ भने दायाँ भागको माथि लाइभ मार्केट, टेक्निकल चार्ट वा ग्राफ(सूचीकृत कम्पनी) र पुच्छरमा सूचीकरणका जानकारीहरु समावेश गरिने छ । 

अहिलेको भन्दा निकै आकर्षक मोडलमा तयार गरिएको नयाँ वेबसाइट भर्सन रियल टाइम(टीएमएस) समसामयिक हुनेछ । नयाँ  वेबसाइट अन्तर्राष्ट्रिय अभ्यासअनुसारको पछिल्लो प्रविधिमा आधारित प्रयोगमैत्री भएको भएको नेप्सेको दाबी छ ।

वेबसाइट अहिलेकोभन्दा सबै जानकारी तथा सूचनाहरु हेर्न सहज र आवश्यकता अनुसार थपघट गर्न मिल्ने गरी गतिशील र लचकदार किसिमले निर्माण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले सुरक्षा र विश्वसनीयतामा  विशेष जोड दिदै नेप्सेमा सूचीकृत कम्पनीहरुका विस्तृत प्रोफाइलसहित इपीएस, पीई रेसियो समेतको फिचर समावेश गर्ने नेप्सेको योजना छ ।