काठमाण्डौ । सुखद संकेत छाड्दै बजारले आर्थिक वर्ष २०७५/७६ लाई विदाई गरेको छ । बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको हो । 

चालु आर्थिक वर्षको अन्तिम दिन मंगलबार नेप्से परिसूचक ४.४५ अंकले बढेर १२५९.०१ को विन्दूमा पुगेको छ । 

यो दिन बजारका सबै समूहको उपसूचक हराभरा भएका छन् । 

केही ब्रोकरहरुले ५० भन्दा बढी कम्पनीको सेयर १० कित्ताको दरले सेयरमूल्य बढाएर किन्दा बजार खुलेलगत्तै ३१ अंकसम्मको बढोत्तरी भएको थियो । बजार खुलेलगत्तै देखिएको उछाल अन्तिम अवस्थासम्म टिक्न सकेन । जसकारण नेप्से परिसूचक सामान्य अंकको वृद्धिमै सीमित बन्न पुग्यो । 

असार मसान्तको ब्याज र करको बाध्यता हटेसँगै लगानीकर्ता बिस्तारै बजारमा खरीदतर्फ केन्द्रीत हुन थालेका हिजो र आजको कारोबारले देखाउने विश्लेषकहरु बताउँछन् । 

लगानीकर्ताहरुले राम्रा र बलिया कम्पनीको सेयर खरीदमा ध्यान दिंदा सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३२ अंकले बढेको छ । 

यो दिन म्युचुअल फण्ड र होटल समूहको सूचक सबैभन्दा धेरै बढ्यो । होटल समूह २.७१ प्रतिशतले बढेको यो दिन म्युचुअल फण्ड समूहमा ५ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

बैंकिङ समूह ४.१३ अंकले बढेको यो दिन विकास बैंक समूहमा ६ अंक, बित्त समूहमा ५.१४ अंक, माइक्रोफाइनान्स समूहमा ५.५ अंकको बढोत्तरी भयो । 

जीवन बिमा समूह १.७३ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा १०.४६ अंक, जलविद्युत समूहमा १.१६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.०९ अंक र अन्य समूहमा २.२३ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो  दिन बजारमा १६१ कम्पनीका १९ लाख ५६ हजार ६३० कित्ता सेयर ३४ करोड ७२ लाख ८९ हजार २७५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले ५ करोड ७८ लाख बढीको कारोबार गर्यो। 

नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले २ करोड ६ लाख, शिवम सिमेन्टले १ करोड ४९ लाख, नेशनल लाइफले १ करोड २९ लाख, सिभिल बैंकले ९६ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ८२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७८ लाख, मेगा बैंकले ७६ लाख र प्रभू बैंकले ६९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन धेरै कमाउनेमा म्युुचुअल फण्डहरु अगाडि देखिए । नवील इक्वीटी फण्डको इकाई मूल्यमा ९.१२ प्रतिशतको बढोत्तरी भयो । सिभिल लघुवित्तको सेयर मूल्यमा समेत ९ प्रतिशतकै हाराहारीमा बढोत्तरी भएको यो दिन सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्यमा ८.३० प्रतिशतको वृद्धि भयो । 

एनएमबी हाइब्रीड फण्ड एल-१ को इकाई मूल्यमा ८ प्रतिशतको हाराहारीले बढोत्तरी भयो । धेरै कमाउने १० कम्पनीको सूचिमा ४ स्थान म्युचुअल फण्डले कब्जा गरे । 

यो दिन आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै ४.१६ अंकको गिरावट आयो ।