काठमाण्डौ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ ।

यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उहाँले बताउनुभयो । 
विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ ।

ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले केही समयका लागि र सीमित सङ्ख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ ।”

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० अश्वक्षमता बराबरका छन् ।

सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको छ ।