काठमाण्डौ । भारु १ हजार र ५ सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने निर्णयका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुनसुुकै बेला मारिनसक्ने खबर त्यहाँका मिडियाहरुले छापेका छन् ।

यिनै खबरहरुपछि चर्चित योगगुरु बाबा रामदेवले समेत नोटबन्दीका कारण प्रधानमन्त्रीको ज्यान खतरामा परेको भन्दै उनलाई सहयोग गरी उनको ज्यान जोगाउन जनताको नाममा अपील गरेका छन् । 

रामदेवले ट्वीट गर्दै भनेका छन्-'आतंकवादी, माफिया, राजनीतिक माफियाबाट मोदी जीको ज्यानलाई खतरा छ । सबैले नोटबन्दीको निर्णयमा उनलाई साथ दिऊ र उनको सकुशल ज्यानका लागि भगवानसँग प्रार्थना गरौं ।' 

केही दिनअघि एक गाउँको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदी स्वयम्ले समेत आफ्नो ज्यानलाई खतरा रहेको उल्लेख गरेका थिए । कसैको नाम नलिई उनले भनेका थिए-'मलाई थाहा छ मैले कस्ता कस्ता शक्तिशालीहरुसँग लडाई सुरु गरेको छु। मलाई थाहा छ कसरी मानिस मेरो विरुद्धमा उत्रिनेछन् । मलाई जिउँदै पनि नछाड्लान् । मलाई उनीहरुले जुनसुकै बेला बर्बाद गर्न सक्छन्, कारण ७० वर्षदेखिको उनीहरुको लुुट बर्बाद भएको छ । तर म हार मान्दिँन ।' 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत ८ नोभेम्बरमा कालोधनलाई निकाल्ने उद्देश्यले भारु १ हजार र ५ सयको पुरानो नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यो घोषणाले भारतमा धेरै कालोधन थुपार्ने अर्बपतिहरुमा रुवाबासी चलेको मिडिया रिपोर्टमा उल्लेख छ ।