काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २४ औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल यही २०७४ वैशाख १ देखि २४ वसन्त पार गरी २५ औं वर्षमा प्रवेश गरेको छ । 

हस्पिटलले गत शनिबार(चैत २६, २०७३) को दिन एक बृहत् साइकल र्यालीको आयोजना गर्यो । नेपाल साइक्लिङ्ग एसोसिएशनसँगको सहकार्यमा आयोजना भएको साइकल र्यालीमा करिब डेढ सयजनाको सहभागिता थियो । 

सो र्याली शनिबार विहान नर्भिक प्राङ्गण थापाथलीबाट सुरु भएर त्रिपुरेश्वरचोक, सुन्धारा, जमल, कमलादी सडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला, बत्तीसपुतली चोक, मध्यबानेश्वर, नयाँ बानेश्वर, बबरमहुँदै नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रमलाई नर्भिक इन्टरनेशल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र नेपाल साइक्लिङ्ग एसोसिएसनका अध्यक्ष छिमी उरक्र्येन गुरुङ्गले सम्बोधन गरेका थिए । कार्यकारी निर्देशक सिंहले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । 

यसैगरी, गत आइतबार (२०७३, चैत्र २७ गते) का दिन रक्तदान कार्यक्रमको आयोजना गरियो । नर्भिक इन्टरनेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं हारती माताको संयुक्त आयोजनामा नर्भिक प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलगायत हस्पिटलमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । रक्तदान शिविरमा जम्मा ५७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए भने रक्तदाताहरुमध्ये नर्भिकको हाउस किपिङ्ग विभागका प्रबन्धक रोहिणी भट्टराईले ५५ पटक रक्तदान गरे ।

हस्पिटलले २०७४ वैशाख १ गते शुक्रबार वार्षिकोत्सवको दिन पारेर एक विशेष प्रभातफेरि कार्यक्रमको आयोजना गर्यो । स्वस्थ तन र मनसहित रोग रोकथामबारे जनचेतनाको अभिवृद्धि गराउन आयोजित प्रभातफेरि शुक्रबार विहान ७ बजे नर्भिक प्राङ्गणबाट सुरु भई त्रिपुरेश्वर चोक, सुन्धारा, रत्नपार्क, भद्रकाली मन्दिर, शहिद गेट हुदै फेरि नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रममा १४० जना सहभागी थिए । शुक्रबार नै नर्भिक हस्पिटलको अन्तरङ्ग सेवा प्राप्त गरिरहेका प्रत्येक शैय्याका विरामीहरूलाई स्वास्थ्यवर्धक फलफुलका प्याकेट समेत वितरण गरिएको थियो । 

यसका साथै आगामी वैशाख ४ र ५ गते का.म.पा. ९ स्थित फुटसलमा आन्तरिक फुटसल र भलिबल प्रतियोगिता समेत गरिने कार्यक्रम रहेको बताइएको छ । हस्पिटलले २०७४ वैशाख ९ गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रमको समापन गर्दैछ । उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रम विहान १०ः३० बजे नर्भिक हस्पिटल परिसरमा सुरु हुने बताइएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाको समेत सहभागिता रहने अस्पतालले जनाएको छ ।