काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनको दशौ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम भएको छ । 

पूर्वाञ्चल विश्वद्यिालय तथा सि.टी.ई.भि.टी.बाट सम्बन्धन प्राप्त गरी वि.एस.सी. नर्सिङ्ग, पि.वि.एन.एस. तथा पि.सी.एल नर्सिङ्गमाअध्ययन/अध्यापन हुने नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनको दशौ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका हुन् । 

नेपाल रेडक्रसको मानव जीवनको लागि बहुमूल्य वस्तु रगतको कमीबाट कुनै पनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले “रक्तदान जीवनदान” को नारालाई सफल बनाउन कलेजले आफ्नो दशांै वार्षिकोत्सवको उपलक्ष्यमा  ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरिएको बताइएको छ । 

सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियूटको दशौ वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य बस्तु रगतले कसैको  जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए ।

सोही अवसरमा हाल विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताइएको छ ।