काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीको बर्लिनमा एक विशिष्ट समारोहबीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानित गरिएको छ । 

गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

सो समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए ।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय–संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि.का कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए । 

पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको विहानी सत्रमा खेमकालाई विशेष बक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमा आफ्नो मन्तव्य राख्दै खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पुर्याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगतिलगायतका विविध विषयमा प्रकाश पारेका थिए । विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघ–संस्थाका प्रतिनिधहरुमाझ उनले आफ्नो धारणा राखेका थिए ।

गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने/गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने लगायतका कार्य गर्दछ । 

यसले गुणस्तर र गुणस्तरीय व्यवस्थापन, गुणस्तरीय व्यवस्थापनमा संघ–संस्थाहरुले हासिल गरेका उपलब्धीलाई आफ्नो प्रकाशनमा समावेश गर्ने, गुणस्तर सुधारका अद्यावधिक उपायहरु आवद्ध संघ–संस्थाहरुलाई उपलब्ध गराउने, गुणस्तरसम्बन्धी उत्कृष्ट नमूनाहरु र तत्सम्बन्धित रणनीति उपलब्ध गराउने कार्य पनि गर्दछ । 

नर्भिकले यसअघि उत्कृष्ट क्षेत्रीय हस्पिटल अवार्ड (युरोप विजिनेश एसेम्ब्ली, लण्डन १०१७), दि म्यानेजर अफ दि–एयर अवार्ड(सोक्रेटस नोमिनेसन कमिटी, अक्सफोर्ड, २०१७) तथा नेपालकै उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड २०१७/०१८ जस्ता प्रतिष्ठित अवार्डहरु समेत पाइसकेको छ ।