काठमाण्डौ । सन् १९९३ मा एक नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार आफ्नो २४ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रम गरी मनाएको छ । 

नर्भिकको वार्षिकोत्सव हरेक वर्ष बैशाख १ गतेका दिन पर्ने भएता पनि विविध कारणवश यसलाई शनिवार मनाइएको हो । 

वार्षिकोत्सव समारोह उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपराष्ट्रपति पुनले पानसमा बत्ती बाली समारोहको समुद्घाटन गरेका थिए । समुद्घाटन पूर्व नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले स्वागत मन्तव्य राख्दै निकट भविष्यमै सम्पन्न गरिने हस्पिटलको थप पूर्वाधार विकास र प्राविधिक फड्को बारे संक्षिप्त जानकारी गराएकी थिइन । 

समारोहमा भारतका अति सुविधासम्पन्न कर्पाेरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटल्स् (जस अन्तर्गत ४५ वटा हस्पिटल रहेका र १०,००० शय्या रहेका छन् ) सँगको नर्भिकको सम्बन्धन बारे फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारेका थिए । उनका अनुसार हालसम्म नेपाली बिरामीहरू भारत गई उपचार गराइराखेको परिप्रेक्ष्यमा अब उप्रान्त जटिल प्रकृतिका नेपाली बिरामीहरू मध्ये ९९% को उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै गर्न सकिनेछ । 

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर प्रशंसा गरेका थिए । प्रा. जोशीले नर्भिकमा दीर्घ सेवा प्रदान गर्ने (१० वर्ष अवधि सेवा गरिसकेका) कर्मचारीहरू, वार्षिकोत्सवका अवसरमा आयोजित विविध खेलकूद प्रतियोगिताका सहभागीहरू, उत्कृष्ट विभागीय प्रमुखहरू एवम् वर्षका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान र पुरस्कृत गरेका थिए । 

समारोहलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष तथा समारोहका सभापति बसन्तकुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरेका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेका थिए । दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शय्या २०० पुर्याउने र उक्त २०० शय्या मध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पुर्याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ्ग सुइट्सको संख्या ८ पुर्याउने योजना रहेको छ । 

तय गरिएको नयाँ योजनाअनुसार नर्भिकले हालका चिकित्सा विभागहरूमध्ये केहीलाई अति वैशिष्ट विभागमा परिणत गर्नेछ । ती चिकित्सा विभागहरू मध्ये हृदयरोग (मुटु) केन्द्र, पाचन प्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आई.भी.एफ. केन्द्र, श्वास–प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्र र हेलिप्याड सुविधासहितको ट्रमासम्बन्धित उपचार केन्द्र रहेका छन् । 

निर्माण पश्चात् हालको पूर्वाधारसहित हस्पिटलले १,३२,००० वर्गफिट ओगट्ने छ भने हस्पिटलले रू. १ अर्ब ५० करोड थप लगानी गर्नेछ । यो लगानी अन्तर्गत अत्याधुनिक सुविधासम्पन्न १०० शय्यायुक्त अर्बुदरोग उपचार केन्द्र र त्यतिनै शय्यायुक्त अति विशिष्ट मातृशिशु उपचार केन्द्र पनि थपिने छन् । अर्बुद रोग उपचार केन्द्र छुट्टै स्थानमा स्थापित हुनेछ भने मातृशिशु उपचार केन्द्र थापाथलीमै थपिने छ । मातृ शिशु उपचार केन्द्र पूर्णतया महिला विशेषज्ञहरू मात्रैको व्यवस्थापन र रेखदेखमा सञ्चालित हुनेछ । 

समारोहमा अध्यक्ष चौधरीले नेपाललाई उत्कृष्ट स्वास्थ्य सेवा गन्तव्य बनाउने प्रण गर्दै हस्पिटलका विविध उपलब्धिहरू, कोशेढुंगाहरू र निकट भविष्यमा गरिने अन्य सुधारका कार्यक्रममाथि पनि प्रकाश पारेका थिए । कार्यक्रम नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको थियो ।