काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्मार्णाथ शुक्रबार “भूमिपूजन” तथा भवन निर्माण शिलान्यास गरेको छ ।

नयाँ भवनको निर्माणपश्चात् नर्भिक २०० शय्यायुक्त यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ । हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधनसुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पुर्याउन आवश्यक पर्ने सबै आधुनिक साधनसुविधा जडित हुनेछ ।

नवीनतम हस्पिटल भवन निर्मार्णाथ भूमिपूजन तथा भवनको शिलान्यास एक विशेष समारोहबीच हस्पिटल परिसरमा हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरीले गर्नुभयो । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार ७७०.१ वर्गफिट हुने र भूमि÷जग्गाबाहेक परियोजनाको जम्मा लागत करिब रु. दुई अर्ब हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरुमध्येको अग्रणी कम्पनी केज कन्सल्ट प्रालिले गरेको छ भने निर्माण हुने नवीनतम भवनको आन्तरिक साजसज्जाका सम्पूर्ण कार्य सिंगापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ ।

स्मरणीय छ वि.सं. २०५० काठमाण्डौमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट बहुआयामिक एवम् बहुवैशिष्ट्य Tertiary Care हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेशपश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशिसहित विदेशिनुपर्ने नेपालीहरुको बाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पुर्याउँदै आएको छ ।

नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरीय स्वास्थ्य सेवाप्रदायक संस्था बन्नुरहेको छ ।

नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्मनिर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समयसापेक्ष आधुनिकीकरण गर्दै साधनसम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानहरुमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना रहेको छ ।