काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताउनुभएको हो । “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उहाँले भन्नुभयो, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 
“अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ”, मन्त्री ढकालले भन्नुभयो, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उहाँको भनाइ थियो ।
सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ ।