-डा.दिलनाथ दंगाल
देशकै ठूलो र पुरानो शैक्षिक धरोहरको रुपमा २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले आफूलाई समयअनुकूल अगाडि बढाउन नसक्दा र राजनीतिले दिनप्रतिदिन किचिँदा धेरै प्रकारका समस्याहरू झेल्दै आएको छ । विश्वविद्यालयमा दलहरूको पञ्जा यतिसम्म छ कि यसले सबै प्राध्यापक, कर्मचारी र विद्यार्र्थीहरूलाई उम्किनै नसक्ने गरी गाँजेको छ । छोटकरीमा भन्नुपर्दा राजनीतिक भागबण्डाले थलिएको छ, विश्वविद्यालय । यो भाग बण्डाको क्रमलाइ केही हदसम्म भंग गर्दै भर्खरै विश्वविद्यालयमा १९औं उपकुलपतिका रूपमा प्रा.डा. धर्मकान्त बाँस्कोटाको नियुक्ति भएको छ । 
 
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. बाँस्कोटा नेपाल मेडिकल काउन्सिलको अध्यक्षका रुपमा रहिसक्नु भएको र काउन्सिलको अध्यक्ष हुँदा चिकित्सा क्षेत्रको उल्लेखनीय सुधार गर्नु भएको थियो, आशा गरौ त्रिविमा पनि सुधार गर्नु हुने छ ।
 
विश्वविद्यालयमा धेरै समस्याहरू वषौंदेखि थाती रहेका छन् र कयौं नयाँ समस्याहरू जन्मिने उत्तिकै सम्भावना पनि छदैछन्। यस्ता समस्याहरुको समाधान गर्नका लागि अब त्रिविमा सांगठनिक र प्राज्ञिक दुबै खाले नेतृत्व गर्न सक्ने व्यक्तिको जरुरी छ । सर्वप्रथम त केही समय पछि दुई पदाधिकारीहरू रेक्टर र रजिस्टारको समय समाप्त हुँदैछ, यसमा नवनियुक्त उपकुलपतिले कस्ता पदाधिकारी पाउनु हुन्छ, तिनीहरुको नियुक्ति नै उहाँका लागि समस्या र चुनौति दुवै बन्नसक्छ । नवनियुक्त उपकुलपतिका चुनौतीहरूलाई बुँदागत रूपमा हेर्दा,
 
त्रिविको घट्दो साखलाइ जोगाउनु
त्रिविको साख दिन प्रतिदिन घट्दो अवस्थामा छ । कुनै न कुनै मिडियामा यसको नकारात्मक समाचार नआएको दिनै हुदैन । के साच्चिकै त्रिविमा सबै काम नकारात्मक समाचार आए जस्तै मात्र छन् वा राम्रा काम पनि हुने गर्छन् त ? यसलाइ छुट्याउनु जरुरी भएको छ । केहि काम पक्कै पनि सुधार गर्नु पर्ने खालकै वा समाचार बन्ने खालकै पनि छन् भने केहि चाहिँ त्रिविलाई बदनाम गराएर खानेहरुले हल्ला मच्चाएका छन्े। यस्तो हल्ला मच्चाउनेहरुमा खास गरी केहि त्रिवि सेवा आयोग दिएर सफल हुन नसकेकाहरु, लिख्ना हे कि लिखाना हे पिएचडिवालाहरु यहाँ आएर त्रिविमा स्वतः अवसर खोजेर नपाएकाहरु, त्रिविमा जागिर खाएर निजि क्याम्पसमा लगानी गरी त्रिविलाइ बदनाम गराएर विद्यार्थी आफ्ना तिर तान्नेहरु र डलरखेतीवालाहरु बढी सक्रिय रहेको देखिन्छ । यस्ताहरुबाट त्रिविलाइ जोगाउनु अर्को चुनौति हुन सक्छ । यसलाइ चिर्नकालागी त्रिविले गरेका राम्रा कामहरुलाइ जनसमक्ष ल्याउने र  नकारात्मक हल्ला फैलाउनेलाइ नङ्ग्याउने कामकालागी एउटा बौद्धिक संयन्त्रको निर्माण नै गरेर अगाडी बढ्नु त्रिविका लागि उत्तम विकल्प हुन सक्छ ।
 
त्रिविको सम्पत्तिको संरक्षण
हाल त्रिविको फोटोकपीकोरुपमा खुलेका नयाँ विश्वविद्यालयहरुले त्रिविकै सम्पत्ति हडपेर आफ्नो गुजारा चलाइ रहेका र अब बन्ने नयाँले पनि यसै गर्ने सम्भावना रहेको हुनाले त्रिविको सम्पत्ति कसकसले हडपेकाछन् ती सबैको खोजी गरेर संरक्षण गर्नु मुख्य चुनौति हुन सक्छ नवनियुक्त उपकुलपतिका लागि ।
 
प्राध्यापकको व्यवस्थापन
विश्वविद्यालयमा लगभग ७ हजारको संख्यामा प्राध्यापकहरू छन् । तीमध्ये कति विषयहरूका प्राध्यापकहरूको त विद्यार्र्थी संख्या नभएर वर्षौदेखि कक्षाकोठामा नछिरी जागिर पाकेको अवस्था छ भने कतिपय प्राध्यापकहरु विद्यार्र्थी संख्या भएर पनि कक्षामा छिर्दैनन् मेसिनमा औंला राखेर बाहिरैबाट फर्किन्छन् । कर्मचारीको कार्यशैली पनि विश्वविद्यालयमैत्री छैन । केहि विषयहरुमा त विद्यार्र्थी संख्या भन्दा प्राध्यापकको संख्या बढी भइरहेको र करारका दरबन्दी सिर्जना गर्दा पहुँचका भरमा यस्ता केहि विषयमा दरबन्दी थप हुन आएबाट साथै विद्यार्थी नै नभएका यस्ता विषयहरुमा पनि आंशिक शिक्षकहरुको संख्या थप गर्दै जानाले पनि त्रिविलाई बर्सेनि ठुलो आर्थिक भार पर्ने देखिन्छ । यसै बिचमा करार र आंशिक प्राध्यापकहरूको समस्या त झन् दिनप्रतिदिन विकराल बन्दै गएको छ । तसर्थ प्राध्यापकहरूको सही ढंगले व्यवस्थापन गर्नु सबैभन्दा  चुनौतीपूर्ण काम हो, नयाँ उपकुलपतिका लागि ।
 
घट्दो विद्यार्थी संख्या
त्रिविका ६० ओटा आंगीक र १ हजार जति सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । नेपालको उच्च शिक्षाको लगभग ९० प्रतिशत विद्यार्र्थीको भार त्रिविले ओगटेको छ ।  तुलनात्मक रुपमा यो संख्या त्रिविका सम्बन्धन प्राप्त क्याम्पसहरूमा बढी नै छ । तर, आंगिक क्याम्पसहरूमा हेर्ने हो भने चाँहि कतिपय विषयहरुमा दिनप्रतिदिन विद्यार्र्थी संख्या घट्दो छ । कतिपय विषयमा त विद्यार्र्थी घटेर शून्यको अवस्थामा आएका छन्  भने कति पय विषयहरुमा विद्यार्थीको संख्या बढ्दो अवस्थामा भए पनि त्रिविले ती विषयहरुमा तत्काल शिक्षकको पूर्ति गर्न नसक्दा पठनपाठन प्रभावित भएको छ । तसर्थ विश्वविद्यालयको यस्तो अवस्थालाई कसरी सुधार्ने भन्ने अर्र्को चुनौती छ नयाँ उपकुलपतिका लागि ।
 
बढ्दो राजनीतिकरण
२०४६ सालको प्रजातन्त्रको उदयपश्चात् त्रिविमा दलीय भागबण्डाले प्रवेश गर्यो । विश्वविद्यालयको उपकुलपतिदेखि कार्यालय सहयोगीको नियुक्तिसम्ममा राजनीतिक भागबण्डा हुन थाल्यो । यसरी राजनीतिक भागबण्डाबाट नियुक्ति पाएका व्यक्तिहरू विश्वविद्यालय प्रति भन्दा पनि नियुक्ति दिलाउन सहयोग गर्ने पार्र्टी र व्यक्तिप्रति बढी उत्तरदायी हुँदै गए । सांगठनिक र प्राज्ञिक दुबै नेतिृत्व क्षमता, पेसागत जेष्ठता बौद्धिक प्रखरता, शिक्षण पेसा प्रति समर्पित, नैतिक आचरणयुक्त, दूरदृष्टि भएका शैक्षिक व्यक्तित्वलाई विश्वविद्यालयको प्राज्ञिक नेतृत्व हस्तान्तरण नगरेका कारणले त्रिविमा समस्या छ । विद्यार्र्थी संगठन तथा पेसागत संघ, संगठनका नामबाट समय समयमा देखा पर्ने अराजकता, उच्शृंखलता र असहिष्णुताका कारणले विश्वविद्यालयको समग्र प्राज्ञिक, प्रशासनिक र व्यवस्थापकीय क्षेत्रमा समस्या सिर्जना हुने गरेको छ । यसलाइ सहि ढंगले व्यवस्थापन गर्नु पनि नवनियुक्त उपकुलपतिका लागी चुनौति हुन सक्छ ।
 
पब्लिक क्याम्पसहरुको व्यवस्थापन
त्रिविबाट सम्बन्धन लिएर नाफारहित ढंगले पब्लिक क्याम्पसहरू सञ्चालित छन । त्रिविले यस्ता प्रकारका क्याम्पसमा सम्बन्धन शुल्कबापत आय आर्जन गर्ने उद्देश्यले अनियमित तरिकाले मापदण्ड मिची पाइलै पिच्चे सम्बन्धन बाँड्दा यी पब्लिक क्याम्पसको स्थायित्व, गुणस्तर, प्राध्यापकहरूको पेसागत सुनिश्चिततामा गम्भीर समस्या सिर्जना हुन गइरहेको र वर्षांैदेखि सेवाशुल्क लगायतका अन्य विविध शुल्क यी पब्लिक क्याम्पसबाट त्रिविले असुली रहेको छ । सो बापत पब्लिक डेक्स निर्माण गर्ने, पब्लिक विश्वविद्यालय नबन्दासम्म यही डेक्समार्फत पब्लिक क्याम्पसलाई व्यवस्थापन गर्ने र प्राध्यापकहरूको स्तर निर्धारण गर्ने भनी सम्झौता कार्यान्वयन हुन नसक्नु पनि समस्याको अर्को महत्वपूर्ण चुरो हो ।
 
त्रिविको पुर्ननिर्माण
२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले पु¥याएको ८ अर्ब ४४ करोड क्षति र सो अन्तर्गतको निकायको पुनः निर्माण हाल सम्म पूर्णरुपमा सम्पन्न हुन सकेको छैन र यो विषय झन् झन् चुनौतीपूर्ण बन्दै गएको छ । यसलाइ सहि ढंगले सम्पन्न गर्नु पनि नयाँ उपकुलपतिका लागि चुनौति हुन सक्छ ।
 
स्ववियु निर्वाचन
लामो समयदेखि सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । विश्वविद्यालयमा स्ववियु चाहिने वा नचाहिने भन्ने बहस चलिराखेको छ, एक थरी व्यक्तिहरू हिजो पञ्चायतको समयमा प्रजातन्त्रका लागि लड्न विश्वविद्यालयमा स्ववियु चाहिएको र अब प्रजातन्त्र हँुुदै देश गणतन्त्रमा प्रवेश गरिसकेपछि स्ववियुको औचित्य समाप्त भएको भनी रहेका छन् भने विद्यार्र्थीहरू तुरुन्त स्ववियु निर्वाचन गर्नुपर्ने माग राखिरहेका छन । योे विषय पनि चुनौतीपूर्ण रहेको छ।
 
त्यसैगरी, त्रिविमा प्रशासनिक सुधार, बेरुजु फस्र्यौट,डिन डाइरेक्टर, क्याम्पस प्रमुख जस्ता पदाधीकारीहरुको नियुक्ति, पाठ्यक्रमको समयानुकुल परिमार्जन, परीक्षा प्रणालीमा सुधार,सेमेस्टर प्रणालीमा  हेलमेट शिक्षक र हेलमेट विद्यार्थीलाई पूर्णकालिन बनाउनु, त्रिवि परिसर भित्र रहेको १५४।७७ हेक्टर जग्गा र भवनहरूको सुरक्षा, यी सबै नयाँ उपकुलपतिका लागि ठुलै चुनौती र टाउको दुखाइका विषय हुुन् । यी चुनौतीबाट पार पाउने उपयुक्त योजनाका साथ सबै पक्षसँग हातेमालो गरी अगाडि बढेमा नयाँ उपकुलपतिले अवश्य पनि सफलता प्राप्त गर्ने छन् र यसैमा विश्वविद्यालयको भविष्य पनि जोडिएको छ । नव नियुक्त उपकुलपतिलाई शुभकामना ।