काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजनाअन्तर्गत नेपाल सरकारको राष्ट्रिय योजना आयोगले वैशाख २९ गते नवप्रवर्तन सुरुआती पूँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेबमोजिम ‘नवप्रवर्तन सुरुआती पूँजी अनुदानसम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन सुरुवाती पूँजी अनुदानसम्बन्धी मापदण्ड, २०७७’ मा उल्लेख भएअनुसारको प्रस्ताव तयार गरिदिने सेवा सञ्चालनमा ल्याएको छ। 

यसअन्तर्गत यस क्यापिटलले नवीनतम ज्ञान, सिप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजनाअनुरुपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यावसायिक योजना तयार गरिदिनेछ। 

यसका साथै नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्तावसम्बन्धी सर्त, आवश्यक कागजात तथा माग गरेबमोजिमको विवरणअनुरुपको व्यावसायिक योजनासमेत तयार गरिदिने छ।

यस प्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यवसायीक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरुलाई उहाँहरुको ज्ञान, सीप तथा क्षमताअनुसारको व्यावसायिक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुआती पूँजी जुटाउनसमेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ। 

यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराउने जानकारी गराएको छ।