काठमाण्डौ । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा 'नवील नारी उद्यमी सीड क्याम्प' हुने भएको छ । 

पुल्चोकस्थित 'इनोभेसन हाइभ'मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले 'नवील नारी उद्यमी सीड क्याम्प'को आवेदन खुला गरिएको जानकारी गराए। 

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो महिलालक्षित संस्करण हो, जसमा कम्तीमा एक महिला सह-संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन।  

आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकाश तालिम दिनेछन्। 

यसरी तालिम सिद्ध्याएका सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछिको डेमो डेमा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्। यो संस्करणमा जम्मा २० वटा उत्कृष्ट व्यवसायिक योजनाहरु छनौट भई अर्को चरणमा जानेछन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार यो कार्यक्रम स्वदेशमै बसेर केही गर्छु भन्ने सपना देख्ने र संकल्प गर्ने युवाहरुका लागि आफ्नो व्यवसायिक सपनाको बिउ रोप्ने अवसर रहेको बताए । उनका अनुसार यो अभियानले विशेष गरी  नेपालका कुना-कन्दरामा रहेका यस्ता व्यवसायिक सोच राखेका महिलाहरुलाई आफ्नो सोंच अगाडि बढाउन सहयोग गर्नेछ । 

शाहले उद्यमी इनोभेसनसंग यो पहिलो सहकार्य भएता पनि कार्यक्रमले गति लिंदै जाँदा नबिल बैंक यस्तो कार्यक्रम आउने दिनमा सातै प्रदेशमा लान इच्छुक रहेको जनाए । 

उद्यमी इनोभेसनका शरद केसीले उद्यमी सीड क्याम्प आफ्नो सोचलाई व्यवसायमा बदल्ने प्लेटफर्म रहेको र यसले आफ्नो सोचलाई परीक्षण गर्न, परिस्कृत गर्न र सुरुवात गर्न सघाउने बताए। 

उद्यमी इनोभेसनको प्रोग्राम कोअर्डिनेटर प्रभा तिमल्सिनाले नवील नारी उद्यमी सीड(क्याम्पले  भिन्न तथा नविनतम व्यवसायिक बिचारलाई सहयोग गरी व्यवसायिक सञ्जाल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला उद्यमीको विकास गर्नु मूल उद्देश्य रहेको बताइन । 

अबको एक महिनासम्म आवेदन समय रहेको यस कार्यक्रममा जेष्ठ ३०, २०७६-असार ३,२०७६ सम्म बूटक्याम्प  हुने र एक महिनाको प्रोडक्ट डेभलपमेन्टपछि जुलाई १९ मा 'डेमो डे' हुने उनले जानकारी दिईन ।

यदि तपाई पनि आफ्नो व्यवसायिक सोंचलाई व्यवसायमा बदल्न चाहनुहुन्छ भने, उद्यमी इनोवेशनको वेबसाइटमा गएर जेठ २६ भित्र आवेदन दिन सक्नुहुन्छ ।