काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश बैंकबीच मर्ज हुने हल्लाले विगत केही दिनदेखि सेयर बजार प्रभावित भइरहेको छ । 

नवील बैंकका सीइओले एनबी बैंकले आफ्नो भाउ बढाउन आफूहरुसँग मर्ज हुन लागेको हल्ला सुनियोजित रुपमा चलाएको दाबी गर्दै समाचार आएपछि त्यसको प्रभाव एनबी बैंकको सेयर मूल्यमा परिरहेको छ । 

स्पष्ट आधारबिनाको सोही आशयको समाचारको पछि दगुर्दै धेरै लगानीकर्ताहरुले लगानीको निर्णय समेत गरेका देखिएको छ । 

सूचिकृत कम्पनीको मूल्य प्रभावित हुने गरी हल्ला चलेपछि एनबी बैंकले बिहीबार एक सूचना नै प्रकाशित गरी नवीलसँगको मर्जर हल्लाको विषयमा आफ्नो धारणा राखेको छ । 

एनबी बैंकले नवील बैंकका सीइओ शाहको हवाला दिंदै आफ्नो बैंकको नाम जोडी बंैकको सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले भ्रम फैलाइएको बताएको छ । यस बैंकका कुनै पनि पदाधिकारीको उक्त बैंकका सीइओसँग बैंक मर्जर सम्बन्धी कुनै कुरा नभएको हुनाले सर्वसाधारण सेयरधनी र लगानीकर्ताहरुलाई यस्तो भ्रमको पछि नलाग्न अनुरोध गर्दछौ । एनबी बैंकले भनेको छः बैंक मर्जर सम्बन्धी छलफल तथा निर्णय बैंकका कर्मचारीको स्तरमा नभई संचालक समिति र लगानीकर्तासँग हुन्छ । 

एनबी बैंकले सेयर मूल्य प्रभाव पार्ने उद्देश्यले हल्ला चलाइएको र यो काम गर्नेलाई कारबाहीको माग समेत गरेको छ । 

यता, नवील बैंकका सीइओ अनिलकेशरी शाहले समेत एनबी बैंकसँग जोडिएको हल्ला निराधार रहेको दाबी गरेका छन् । 

उनले आफूहरु वा अरुको आफूहरुसँग मर्जर वा एक्वीजिसनको कुनै छलफल नै नभएको स्पष्ट पार्दै नवील यो बाटोमा नजाने समेत बताएका छन् । 
‘हामी चुक्तापूँजी वृद्धिका लागि एफपीओ, हकप्रद, एक्वीजिसन वा मर्जरमा जान आवश्यक छैन ।’ उनले बिजशालासँग भनेका छन्–‘पूँजी वृद्धि गर्नै पर्दा समेत हामी आफैं प्रयास गर्छौ, कोहीसँग जोडिन आवश्यक छैन, हामी फरक बाटोबाट अगाडि बढ्नेछौ ।’ 

आफूहरुले विगतमा समेत गरेर देखाइसकेको उल्लेख गर्दै आगामी दिनमा समेत पूँजी वृद्धि गर्नै पर्दा आफ्नै बुताले अगाडि बढ्ने र त्यो सहजै संभव समेत रहेको जिकिर गरे ।