काठमाण्डौ । सूचिकरण विनियमावली उल्लंघन गरेपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सूचिकरण विनियमावलीमा भएको व्यवस्था विपरीत बैंकले ढिलो गरी साधारणसभा प्रयोजनका लागि घोषित बुक क्लोज मिति सम्बन्धी जानकारी पठाएपछि नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधिएको नेप्सेको सूचिकरण शाखाले जनाएको छ । 

नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज मितिसँग सम्बन्धी जानकारी सो मितिको ७ दिनअघि नै जानकारी गराउनुपर्ने भन्ने छ।

तर, नवीलले फागुन २७ गते आह्वान गरेको साधारणसभा प्रयोजनका लागि फागुन १४ गतेलाई बुक क्लोज मिति तोके पनि सो सम्बन्धी जानकारी ढिलो पठाएपछि स्पष्टीकरण सोधिएको हो । 

बुक क्लोज सम्बन्धी जानकारी दिन के कति कारणले ढिलाई भएको हो, सो खुलाई पठाउन भन्दै नेप्सेले बैंकलाई स्पष्टीकरणको पत्र काटेको छ ।