काठमाण्डौ । सोमबारसम्ममा अधिकांश वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

अधिकांश वाणिज्य बैंकहरुको अवस्था राम्रो देखिएको छ । 

दोश्रो बजारमा सूचिकरण भएका २७ वाणिज्य बैंकहरुको प्रगति र नाफाघाटाको ग्राफमा लगानीकर्ताको विशेष चासो हुने गर्दछ । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अधिकांश सूचकमा २७ वटै बैंकलाई टपे पनि लगानीकर्ताले खासै ध्यान दिने गर्दैनन् । 

वाणिज्य बैंकमध्येमै पनि तेश्रो त्रैमासको रिपोर्ट आउने क्रम चलिरहँदा दोश्रो बजार वा समग्र बैंकिङ उद्योगमै तीनवटा बैंकको प्रत्येक दिनजसो चर्चा भयो । 

उद्योगका २ ठूला बैंक नवील र नेपाल इन्भेष्टमेन्ट बैंकलाई टप्ने गतिमा अगाडि बढेको भनिएको एनआइसी एशिया बैंकको यो अवधिमा निकै ठूलो चर्चा भयो । नवील र इन्भेष्टमेन्ट बैंककै सीइओले एनआइसी एशियाको तारिफ गरेका कुरा समेत बाहिर आए । यसले बजार अझै ततायो । 

यस्ता खबर र हल्लाले एनआइसी एशिया बैंकको मूल्यमा भारी वृद्धि भयो । मूल्यमा चलखेल गर्नेले यही बेला कुस्त कमाए पनि । 

दुई ठूला बैंकका सीइओहरुले एनआइसी एशिया बैंकलाई आफ्नो प्रतिस्पर्धी मान्ने खालको अभिव्यक्ति दिएको कुरा सार्वजनिक भएपछि एनआइसी एशिया पनि यी दुई बैंकलाई उछिन्ने दौडमा छ त ? धेरैको मनमा यही प्रश्नले घर गर्यो । 

कतिपयले एनआइसी एशिया बैंकको दोश्रो बजार सेयर मूल्य नेपाल इन्भेष्टमेन्ट बैंक जत्तिकै हुने भनेर पनि हल्ला पिटाए । कतिपयले नवील बैंकको सीइओले एनआइसी एशियालाई प्रतिस्पर्धी भनेका कारण सेयर मूल्य नवीलकै हाराहारीमा पुग्नेसम्मको अड्कलबाजी पनि गरे ।

यो अवधिमा सर्वाधिक चर्चामा आएका यिनै तीन बैंकको तेश्रो त्रैमासको वित्तीय विवरण कस्तो रह्यो ? के बजारमा भनिएजस्तो एनआइसी एशियाले यी दुई ठूला बैंकलाई टक्कर दिंदैछ ? यिनै जिज्ञासालाई मेट्नका लागि हामीले यी तीन बैंकको केही मुख्य सूचकलाई तुलनात्मक रुपमा हेर्ने कोशिश गरेका छौ। 

मुनाफा आर्जनमा एनआइसी एशिया नवील र इन्भेष्टमेन्ट बैंकभन्दा निकै पछाडि परेको छ। नवीलले ३ अर्ब १९ करोड नाफा आर्जन गर्दा इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५६ करोड र एनआइसी एशियाले २ अर्ब २७ करोड मात्र नाफा गरेको छ । तीन बैंकको तुलनामा एनआइसी एशियाको नाफा कम भए पनि यो बैंकको नाफामा बढोत्तरीको गति भने नवील र इन्भेष्टमेन्टको तुलनामा निकै तीव्र छ । 

रिजर्बको आकारको हिसाबले इन्भेष्टमेन्ट बैंक बलियो देखिएको छ । यो बैंकसँग १० अर्ब ५५ करोड रिजर्ब छ । नवीलसँग ९ अर्ब ६ करोड र एनआइसी एशियासँग ४ अर्ब ५ करोडको रिजर्ब छ । 

रिटेन अर्निङमा नवील एनआइसी र इन्भेष्टमेन्ट भन्दा निकै अगाडि छ । नवीलको यस्तो अर्निङ ३ अर्ब ७६ करोड रहेको छ भने इन्भेष्टमेन्ट बैंकको १ अर्ब ८३ करोड र एनआइसी एशियाको १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। 

निक्षेप संकलनमा भने एनआइसी एशियाले यी दुईसहित २६ वटै वाणिज्य बैंकलाई टपेको छ । एनआइसी एशियाले १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेको छ भने नवीलले १ खर्ब ५३ अर्ब र इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४२ अर्ब संकलन गरेको छ । एनआइसी एशियाको तुलनामा दुवै बैंकको शाखा सञ्जाल निकै कम छ । इन्भेष्टमेन्ट बैंकको शाखा संख्या ८० मात्र छ भने नवीलको त त्यो भन्दा पनि कम । एनआइसी एशियाको २८३ वटा शाखा रहेको छ । कम शाखा हुँदा समेत नवील निक्षेप संकलनमा एनआइसी एशियाभन्दा १ अर्बले मात्र पछाडि देखिन्छ । 

वार्षिकीकृत प्रतिसेयर आम्दानीमा नवील ४७.६९ रुपैयाँसहित अगाडि छ । एनआइसी एशिया ३४.३६ रुपैयाँको उचाईमा हुँदा इन्भेष्टमेन्ट बैंक भने २७.१७ रुपैयाँमै सीमित बन्न पुगेको देखिन्छ । 

कस्ट अफ फण्ड इन्भेष्टमेन्ट र एनआइसीको भन्दा नवीलको सस्तो छ भने बेस रेटमा पनि यही अवस्था छ । 

तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा हेर्दा र प्रगतिको यो गति चौथो त्रैमाससम्म पनि कायमै रहेमा तथा थप नियामकीय व्यवस्थाका लागि दायीत्व सिर्जना नभएमा तीनै बैंकले कतिसम्म लाभांश वितरण गर्न सक्लान् भन्ने कुरा पनि हेरिएको छ। जसअनुसार नवील बैंकले यो वर्ष लगानीकर्तालाई ३४.३९ प्रतिशतसम्म लाभांश दिनसक्छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १६.०१ प्रतिशत तथा एनआइसी एशिया बैंकले १५.८६ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । एनआइसी एशिया डिवेञ्चर बिक्रीमा आक्रामक बन्दा कमाएको रकम समेत डिवेञ्चर रेडेम्प्सन फण्डमा राख्नुपर्दा समेत लाभांश क्षमता अपेक्षित नदेखिएको हो ।