काठमाण्डौ । आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले 'नबिल ग्रिन पिन सेवा'को सुरुवात गरेको छ । 

नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले 'ग्रिन पिन' सेवामार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।

नयाँ सुविधाको विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भनेका छन्, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन । अब ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैंले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिनमार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर 'जेनेरेट ओटिपी फर पिन' मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले 'इन्टर ओटिपी टू चेञ्ज योर पिन' भन्ने मेनु छनौट गरी प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्नसक्ने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरणमैत्री सेवाको शुभारम्भ गरेको पनि प्रष्ट्याएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ।