काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा १४२.१२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९५ लाख ३९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा १ करोड ४९ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ६१ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

संस्थाले खुद ब्याज आम्दानी २ करोड ८४ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष १ करोड ५३ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ३४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले २६ करो १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार २३.९२ प्रतिशतले बढाएको छ । गत वर्ष ६ करोड ९४ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.३१ रुपैयाँ पुगेको छ ।