काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ११.५९ प्रतिशतले बढाउन सफल भएको छ।

संस्थाको बुधबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले यो अवधिमा खुद नाफा ३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको सञ्चालन मुनाफा ६ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १२ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष ९ करोड २२ लाख रुपैयाँमा सीमित थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

संस्थाले समीक्षा अवधिमा ३८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ७.०४ प्रतिशतले घटाएको छ। अघिल्लो वर्ष १२ करोड ७ लाख रुपैयाँको रिजर्भको आकार घटेर ११ करोड २२ लाख रुपैयाँको भएको छ। 

संस्थाको चुक्तापुँजी २१ करोड १२ लाख रुपैयाँको रहेको छ। अघिल्लो वर्ष चुक्तापुँजी १६ करोड ७६ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.७७ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १५३.१२ रुपैयाँ रहेको संस्थाको कुल सम्पत्तिको प्रतिफल २.९६ प्रतिशत रहेको छ।