काठमाण्डौ। नागरिक लगानी कोषले अघिल्लो वर्षका प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गरेको छ।

कोषको सोमबार सम्पन्न २४ औं बार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो। कोष अघिल्लो आर्थिक वर्षका लागि आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

साधारणभाले आर्थिक वर्ष २०७४/७५ को आयव्ययसमेत पारित पनि गरेको छ। साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आव २०७४/७५ को प्रतिवेदन पेस गरेका थिए।

कोषले लगानीको पोर्टफोलियो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी मोडेलमार्फत परियोजनाहरुमा लगानी गर्ने भएको छ। अध्यक्ष भट्टराईले संस्थागत लगानीकर्ताका रुपमा विभिन्न परियोजनाका शेयर, डिवेन्चर र बण्डमा लगानी गर्ने पनि बताए। पुँजी बजारसँग सम्बन्धित स्टक डिलरजस्ता कार्य गर्ने रणनीति अख्तियार गरिएको उनले जानकारी दिए।

कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमका बारेमा जानकारी दिँदै भट्टराईले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ का बारेमा जानकारी गराएका थिए। उनले आमनागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको रहेको र लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाएको उल्लेख गरे।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई थप व्यावसायिक र पारदर्शी बनाएर लैजाने बताए।