काठमाण्डौ । नागरिक लगानी कोष भर्खरै दर्ता गरेको नागरिक स्टक डिलर कम्पनीको बोर्ड संरचना तयार गरी नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेमा ब्रोकर लाइसेन्स लिने प्रक्रियामा जाने भएको छ । 

सेयर खरीदबिक्रीका लागि डिलर स्वयम्ले स्टक ब्रोकर झै नेप्सेबाट छुट्टै लगइन लिई कारोबार गर्न सक्नेछ । यसका लागि कोषले स्टक डिलरसँगै ब्रोकरको लाइसेन्स पनि लिनुपर्छ । 

धितोपत्र व्यवसायी नियमावली २०६४ संसोधन गर्दै बोर्डले विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्नसक्ने व्यवस्था गरेको छ । यसका  लागि चुक्तापूँजी २० करोड आवश्यक पर्छ । यो व्यवस्थामा टेकेर कोषले बोर्डबाट अनुमति लिई स्टक डिलरसँगै ब्रोकर लाइसेन्स पनि लिनेछ । 

यी सबै प्रक्रिया पूरा हुनुअघि कोषले स्थापना गरेको सहायक कम्पनी नागरिक स्टक डिलरको संचालक समितिको संरचना समेत तय गरिसकेको छ । 

कम्पनीमा ५ सदस्यीय बोर्ड संरचना तयार पारिएको कोष स्रोतको भनाइ छ । स्रोतका अनुसार नागरिक लगानीकोषका तर्फबाट ३ जना, नेपाल टेलिकमबाट एकजना, नेपाल पूर्वाधार विकास बैंकबाट १ जनासहित ५ जनाको बोर्ड रहनेछ । 

डिलर कम्पनीमा अध्यक्ष भने नागरिक लगानी कोषबाट नै मनोनीत हुनेछन् । 

डिलर कम्पनीले आइपीओ सर्वसाधारणसमक्ष जारी गरेपछि सर्वसाधारणका तर्फबाट समेत १ जना बोर्डमा रहने व्यवस्था हुनेछ । 

नागरिक लगानीकोषले २ साताअघि स्टक डिलर कम्पनी दर्ता गरिसकेको छ । कम्पनीले ५ अर्बको फण्ड तयार गरी दोश्रो बजारमा आक्रामक रुपमा प्रवेशको तयारी गरिरहेको छ । 

नेप्से र सेबोनका प्रक्रिया पूरा गरेपछि स्टक डिलरको रुपमा कम्पनीको प्रवेश हुने बताइएको छ ।