काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले असारभित्रै संचालन अनुमति पाउने भएको छ । 

बहुप्रतिक्षित स्टक डिलरका रुपमा आउन लागेको कम्पनीलाई यही असारभित्रै अनुमति दिइने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालालाई जानकारी दिए । 

हाल नागरिक स्टक डिलरको कागजात अध्ययन भइरहेको र लाइसेन्सको अन्तिम चरणमा रहेको उनको भनाइ छ। 

स्टक डिलरले सेयर खरिदबिक्रीमा कमिसन पनि तिर्नुपर्ने भएकाले यस विषयमा जिज्ञासा राख्दा अध्यक्ष ढुंगानाले ब्रोकरसरह नै कमिसन निर्धारण हुने बताए । 

नागरिक स्टक डिलरले यही असार महिनाको सुरुवातमा नै स्टक डिलर कम्पनीको लाइसेन्स प्रक्रियाका निम्ति नेप्से र सेबोनसमक्ष आवेदन दिएको थियो । डिलरले आगामी साउनदेखि सेयर बजारमा आक्रामक रुपमा प्रवेश गर्ने तयारी गरेको जनाएको छ ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नसक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको बहुप्रतिक्षित रहेकोमा नागरिक लगानी कोषले लकडाउन अगावै नागरिक स्टक डिलर कम्पनी दर्ता गरिसकेको छ ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहन्छ । संस्थागत लगानीकर्ताले अध्ययन तथा अनुसन्धानमार्फत् गर्ने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

यो आशाअनुसार बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था चैत १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।