काठमाण्डौ । नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ ।

एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा ज्ञान ग्रुप अन्तर्गत ज्ञान अर्थमुर्भस प्रा. लि.ले यी बाइक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रारम्भ भएको नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ।

ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन/एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो ।

कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्दैछ । साथै निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने योजना छ ।