काठमाण्डौ । वर्षौदेखि काठमाण्डौमा मात्र हुँदै आएको नाडा अटो शो अब उपत्यकाबाहिर पहिलोपटक पोखरामा समेत हुने भएको छ । 

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनको एक प्रतिनिधि मण्डलसँगको छलफलको क्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ लगायतले यस्तो सहमति गरेका हुन् । 

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा आएको १२ सदस्यीय प्रतिनिधि मण्डलबीच यस्तो सहमति भएको नाडाले जनाएको छ । सो छलफलमा नाडाका उपाध्यक्ष धु्रवबहादुर थापा तथा शम्भुप्रसाद दाहाल, सचिव दिपककाजी तुलाधार, सहकोषाध्यक्ष प्रदीपमान प्रधान तथा केन्द्रीय कार्य समिति सदस्यद्धय सुरेन्द्र उप्रेति तथा विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो । 

छलफलको क्रममा नाडाले १९९८ देखि काठमाण्डौमा मात्र सम्पन्न गर्दै आएको नाडा अटो शोलाई पोखरामा समेत सम्पन्न गर्ने सहमति भएको हो । नाडा अध्यक्ष श्रेष्ठले विगतमा काठमाण्डौ बाहिर अटो शो सम्पन्न गर्न आफू तयार रहे पनि आवश्यक पूर्वाधारका अभावका कारण सम्पन्न गर्न नसकिएको जानकारी दिदै नाडाका उपाध्यक्ष तथा नाडा अटो शो व्यवस्थापन समितिका संयोजक शम्भु दाहाललाई पोखरामा नाडा अटो शो सम्पन्न गर्नका लागि आवश्यक कार्य अघि बढाउन जिम्मेवारी समेत दिएका छन् । 

अर्को एक प्रसंगमा अध्यक्ष श्रेष्ठले राष्ट्रबैङ्कले अटोमोवाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्दै अटोमोवाइलमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको र यसको समुचित समाधानका लागि सक्दो प्रयास भइरहेको बताए ।