– धर्म मलासी
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जारी अटोमोबाइल्सको कुम्भ मेला ‘नाडा अटो शो’ मा ग्राहकबाट गाडी बुकिङ गर्ने क्रम बढ्दो छ ।

अटो शोमा विभिन्न ब्रान्डका दर्जनौँ इलेक्ट्रिकसँगै पेट्रोल र डिजेलबाट चल्ने टु ह्विलर र फोर ह्विलर गाडीहरु प्रदर्शनका लागि राखिएका छन्। अटो शोको दोस्रो दिन मंगलबारसम्म विभिन्न ब्रान्डका ५०० सयभन्दा बढी फोर ह्विलर गाडी बुकिङ भइसकेका छन् ।

ग्राहकको फोर ह्विलर गाडीप्रतिको रुचिले नेपालमा पछिल्लोपटक गाडीपारखीहरु पनि प्रशस्तै रहेको देखिन्छ । यसले फोर ह्विलरे निजी सवारी अब सौखको विषयमा मात्र सीमित नरहेको संकेत गर्दछ ।

गाडी बुकिङतर्फ निशान, स्पोटेज र सुजुकी ब्रान्डालाई ग्राहकले अत्याधिक रुचाइएको पाइएको छ । प्राप्त तथ्यांक अनुसार मंगलबारसम्म निशान ब्रान्डका १०० वटा, स्पोटेज ब्रान्ड ७० वटा र सुजुकी ब्रान्डका ५० वटा गाडी बुकिङ भइसेका छन् । निशान ब्रान्डका पेट्रोल र डिजेलबाट चल्ने किक्स (१५०० सीसी) लाई ग्राहकले बढी रुचाएका छन् ।

यसैगरी स्पोटेज ब्रान्ड स्पोटेज, निरो र सेल्टस भेरियन्टलाई ग्राहकले बढी रुचाएका छन् । सुजुकी ब्रान्डका ब्रेजा भेरियन्टले पनि ग्राहकलाई निकै तानेको देखिन्छ ।

अटो शोमा डाट्सन, स्याङ्योङ, जिप, इसुजु ब्रान्डका गाडीहरुप्रति पनि ग्राहकको राम्रै नजर परेको छ । मंगलबार यी ब्रान्ड क्रमशः ४०, ३५, ३० र २५ वटा गाडी बुकिङ भइसकेका छन्।

मुख्य आकर्षणका रुपमा डाट्सन ब्रान्डको न्यू गो, स्याङ्योङ ब्रान्डको मुसो, रेक्स्टन र टिभोली, जिप ब्रान्डका ट्रेल हक र इसुजु ब्रान्डका सिङ्ग्ल क्याबिन र एस क्याब हाइराइड गाडीहरु रहेका छन् ।

यसैगरी भोल्सवागेन ब्रान्डका २४ वटा गाडी बुकिङ भएको छ । यसको मुख्य आकर्षणका रुपमा पोलो (१००० सीसी) र टिगुआन अल स्पेस भेरियन्ट रहेका छन् ।

बीवाईडी ब्रान्डका पनि २० वटा गाडी बुकिङ भइसकेको छ । यसको मुख्य आकर्षण बीवाईडी ई६ रहेको छ ।

यस्तै होन्डा, फोटोन, मोरिस ग्यारेजेज (एमजी), डीएफएसके र माज्डा ब्रान्डका पनि क्रमशः १०, ९, ७, ७ र ३ वटा गाडी बुकिङ भइसकेका छन् । मुख्य आकर्षणका रुपमा होन्डा ब्रान्डको सीआरबी डब्लूआरबी, फोटोन ब्रान्डको टुन ल्यान्ड, मोरिस ग्यारेजेज (एमजी) ब्रान्डका विद्युतीय गाडी ईभी र जेडएस १.० टर्बो तथा माज्डा ब्रान्डका माज्डा ६ र सीएक्स ३ रहेका छन् ।

मेला अझै ४ दिनसम्म चल्ने भएकोले गाडी बुकिङको संख्या अझै निकै बढ्न सक्ने देखिएको छ ।