पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते उपत्यकाबाहिर पोखरामा आयोजना गर्यो । 

पोखरामा उक्त बैठक आयोजना गर्नुको मुख्य उद्देश्य देशका विभिन्न क्षेत्रमा रहेर अटोमोवाइल व्यवसायीको समस्याको विषयमा जानकारी लिने र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने मुख्य लक्ष्य थियो । 

कार्यसमिति बैंठकपछि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा) सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । 

उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीय स्तरमा बसेर कसरी ब्यवसाय संचालन भइरहेको छ । ति ब्यवसाय संचालनको दौरान कस्ता समस्या झेल्नु परेको छ । के कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रियतवरबाट समाधान गर्ने भन्ने विषयमा लामो अन्र्तक्रिया भएको थियो । 

वडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा अधिकांश व्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नुपर्ने जस्ता बिषयको उठान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफूहरु त्यसको विपक्षमा उभिने जानकारी दिए । उनले विकास निर्माणको काम अगाडी बढिरहेको जानकारी दिदै ब्यवसाय मैत्री वातावरण निर्माणमा आफूहरु लाग्ने जानकारी दिएका थिए । 

नाडा र वाडाबीचको सम्बन्धको बिस्ताको बिषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर ब्यवसाय गर्ने ब्यवसायीको हक र हितमा काम गर्ने हुँदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघिय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्छु ।’ 

त्यसैगरी उनले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नु पर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यमा सामुहिक पहलमा सार्वजनिक यातायात सेवा बिस्तार गर्न सुझाव दिए ।

कार्यक्रमा बोल्ने अधिकांश वडाका पदाधिकारीहरुले नाडाको कार्यक्रममा आफूहरुको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए भने स्थानीय स्तरमा ब्यवसाय बिस्तारका लागि पहल गर्न अपिल गरेका थिए ।