काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नाफाका लागि सीइओलाई दवाब दिने(पेल्ने) बैंक तथा बित्तीय संस्थाका संचालकहरुलाई पनि अब कडा कारबाही हुने चेतावनी दिएका छन् । 

मेगा र टुरिजम बैंकबीचको मर्जरपछि एकीकृत बित्तीय कारोबार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

उनले सीइओलाई बढी नाफा कमाउन अनावश्यक दवाब दिने संचालकहरुलाई अब राष्ट्रबैंकले कारबाही गर्न थाल्ने समेत चेतावनी दिए । ‘हामीले संचालकहरुले यस्ता प्रेसर दिएका कुरा सुनिरहेका छौ ।’ उनले थपे–‘अनावश्यक दवाब दिनेलाई छाड्दैनौ ।’

उनले धेरै नाफामुखी बन्न खोजे बैंकहरुलाई कडा कारबाही गर्ने चेतावनी समेत दिए । ‘मैले पटक–पटक नाफा कमाउनतिर मात्र नलाग्नुहोस् भनेर भनिसकेँ, थोरैले मात्र मेरो कुरा सुन्नुभएको छ, धेरैले सुनेका छैनन् ।’ उनले भने–‘फेरि पनि भन्छु राम्रोसँग सुन्नुहोला, जनताको पैसा तलमाथि नहोस् ।’
उनले बैंकमा बसेर जनताको पैसा दुरुपयोग गर्ने तथा नाफा खोज्नेहरुले बैंकबाट लगानी फिर्ता गर्नुपर्ने र अन्य कुनै व्यापार थाल्नुपर्ने पनि सुझाव दिए । ‘बैंकमा लगानी गरेर मुलुकको आर्थिक वृद्धिलाई सहयोग गर्छु भन्ने जसले सोचेको छ, उसका लागि ठीकै छ। तर, बैंकबाट रिटर्नको आशा जसले गरेको छ, उसले बैंक छाडे हुन्छ, लगानी निकालेर लगे हुन्छ ।’ डा. नेपालले भने–‘बोर्डले पनि व्यवस्थापनलाई बढी नाफा कमाउन गलत दवाब दिने काम बन्द गर्नुहोस् ।’ 

उनले नाफामा मात्रै ध्यान दिएका कारण बैंकहरुले अन्धाधुन्ध लगानी गरेका उल्लेख गर्दै भने–‘यहीकारण निक्षेप १३ प्रतिशतले बढ्दा तपाईहरुले कर्जा चाहि १८ प्रतिशतले बढाउनुभयो । अब यो काम तत्काल बन्द होस् ।’ 

देशमा आर्थिक वृद्धिको युग सुरु भइसकेको जिकिर गर्दै आगामी दिन अर्थतन्त्रका लागि स्वर्णिमकाल हुने दाबी पनि गरे ।

उनले गत आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल भएको र यो वर्षको वृद्धिदर ६ प्रतिशत हुने उल्लेख गर्दै भने–‘लगातार २ वटा आर्थिक वर्षमा आर्थिक वृद्धिदर यसरी उत्साहजनक अवस्थामा कहिल्यै भएको थिएन । यसले वृद्धिदरमा स्थायीत्व हुँदै गएको र यसबाट मुलुक आर्थिक वृद्धिको युगतर्फ अगाडि बढिसकेको स्पष्ट देखाइसकेको छ ।’

राजनीतिक स्थायीत्वले नीतिगत स्थायीत्व ल्याउने उल्लेख गर्दै उनले बैंक तथा बित्तीय संस्थाहरुलाई आर्थिक वृद्धिदरलाई अझ बढाउने गरी भूमिका निर्वाह गर्न र बढी नाफामुखी नबन्न बैंकहरुलाई आग्रह गरे । 

आयात घटाउने र निर्यात बढाउने क्षेत्र तथा परियोजनाहरुमा लगानी गर्नुहोस् । उनले निर्देशन दिंदै भने–‘अहिलेको समयमा नेपालमा अत्यन्तै राम्रो अवसर छ, यसलाई बैंकहरुले गुमाउनुहुन्न ।’ 

आफ्नो पूँजीवृद्धिको नीतिलाई पुष्टि गर्न केही समय खर्चिएका उनले मजबुत र थोरै बैंक भएका कारण अब यो क्षेत्रको भविष्य उज्वल रहेको समेत प्रष्ट्याए ।  

गभर्नर नेपालले कतिपय बैंक तथा बित्तीय संस्था र तिनका सीइओहरुलाई जरीवाना गर्दा सम्बन्धित व्यक्ति माथिसम्म पुगेको प्रसंग कोट्याउँदै भने–‘जरीवाना भोग्ने केही मित्र माथि पुगेको पनि थाहा पाएँ । जति माथि पुगे पनि केही हुनेवाला छैन । केन्द्रीय बैंकले गलत गर्नेलाई छाड्नेवाला छैन ।’ 

उनले बैंकहरुको जोखिमको अवस्थाका आधारमा वर्गीकरण गर्न लागिएको उल्लेख गर्दै यहीकारण जोखिममा आधारित सुपरभिजन गर्ने काम चलिरहेको समेत खुलाए ।