काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ पहिरो व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ४४ करोडको लोभलाग्दो नाफा आर्जन गरेको यो बैंकको खूद नाफा घटेर यो वर्ष ८६ करोड ७१ लाख सीमित भएको हो । यो भनेको ४० प्रतिशतको गिरावट हो ।

बैंकले व्यवसाय बिस्तारमा खासै ध्यान नदिनू, अत्यधिक ब्याज खर्च लगायतका कारणले नाफामा ठूलै गिरावट आएको देखिन्छ । 

व्यवसाय बिस्तार नगरेकै कारण खूद ब्याज आम्दानी समेत घटेको छ । अघिल्लो वर्ष १ अर्ब ९५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी घटेर यो वर्ष १ अर्ब ९० करोडमा सीमित बन्न पुगेको हो ।

बैंकको संचालन मुनाफामा पनि पहिरै गएको छ । अघिल्लो वर्ष १ अर्ब १७ करोड रहेको यस्तो मुनाफा करिब १८ प्रतिशतले घटी ९६ करोड ६८ लाखमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ८७ अर्ब ६४ करोड निक्षेप संकलन गरी ७३ अर्ब ७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७१ अर्ब ६० करोड निक्षेप संकलन गरी ५९ अर्ब ५९ करोड कर्जा परिचालन गरेको थियो । 

खूद नाफा, संचालन मुनाफा र खूद ब्याज आम्दानीमा गिरावट आए पनि बैंकले  रिजर्बकोषमा भने अपत्यारिलो छलाङ मारेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ८९ करोडमा सीमित रिजर्बकोषको आकार बढाई ३ अर्ब ४० करोडको उचाई चुमाएको हो । यो भनेको करिब ८० प्रतिशतको वृद्धि हो ।

यस्तै, खराब संस्थाहरुलाई मर्ज गरेर अगाडि बढिरहेको यो बैंकको चिन्ताको बिषयको रुपमा लिइएको खराब कर्जा असूलीमा पनि सुधार भइरहेको देखिएको छ । अघिल्लो वर्ष ४.३२ प्रतिशत रहेको यस्तो कर्जा घटेर ३.९ प्रतिशत कायम गर्न व्यवस्थापन सफल भएको छ ।

यस्तै, यो बैंकको संभावित जोखिम व्यवस्थापन कोष ३४ करोड ३९ लाखले ऋणात्मक बनेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.४५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३२.७८ रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानीमा बैंकले करिब ५६ प्रतिशतको पहिरो व्यहोरेको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ८ प्रतिशतले सुधार भई १४२.५२ रुपैयाँ, इक्वीटीमा प्रतिफल ५९ प्रतिशतले घट्दै १०.१४ प्रतिशत र मूल्य आम्दानी अनुपात  १५.२२ गुणा कायम भएको छ ।