काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशन गरिसकेका छन् । देशका २८ वटा वाणिज्य बैंकमा पहिलो त्रैमासमा समेत खूद नाफा बढी कमाउने बैंकको रुपमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई निजी बैंकले उछिन्न सकेनन् । 

अघिल्लो आर्थिक वर्षको आफ्नो पोजिसनलाई कायम राख्दै राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासमा समेत सबैभन्दा बढी १ अर्ब ११ करोड बढी नाफा कमाएको छ । 

खूद नाफा आर्जनको हिसाबले हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंक र नवील बैंकबीच कडा टक्कर देखिएको छ । समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४७ लाख तथा नवील बैंकले १ अर्ब ५ करोड २५ लाख खूद नाफा आर्जन गरेका देखिएको छ । 

कुल ९१ करोड ३९ लाख नाफा कमाएर नेपाल बैंक लिमीटेड धेरै नाफा कमाउने बैंकको सूचिमा चौथो स्थानमा देखिएको छ भने ७५ करोड २७ लाख खूद नाफा कमाएर एनआइसी एशिया बैंक नाफाको हिसाबले टप फाइभमा पर्न सफल भएको छ । 

पहिलो त्रैमासमा सबैभन्दा कम नाफा सिभिल बैंकको देखिएको छ । यो बैंकले १८ करोड ५१ लाख खूद नाफा आर्जन गरेको हो । अन्य बैंकको तुलनामा यो बैंकको नाफा कम भए पनि उसैको अघिल्लो वर्षको यही अवधिसँग तुलना गर्दा नाफा तर्फको प्रगति भने निकै राम्रो छ । 

बाँकी बैंकमध्ये खूद नाफाको हिसाबले कुन बैंक कुन स्थानमा परे, तल दिइएको तालिका हेर्न सक्नुहुन्छ । 

यसैगरी, एनएफआरएस विधि अनुसार वितरणयोग्य नाफा कमाउने मामलामा भने इन्भेष्टमेन्ट बैंक पहिलो स्थानमा देखिएको छ । यो बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड ४७ लाख वितरणयोग्य मुनाफा आर्जन गर्ने सफलता पाएको छ । 

रेगुलेटरी एडजस्टमेन्टपछिको स्वतन्त्र नाफा(वितरणयोग्य नाफा) आर्जनमा नेपाल बैंक लिमीटेड ९७ करोड ९२ लाखसहित दोश्रो स्थानमा छ भने नवील बैंक ९३ करोड ३२ लाखसहित तेश्रो स्थानमा छ । 

राष्ट्रिय वाणिज्य बैंकले ७२ करोड २४ लाख वितरणयोग्य नाफा आर्जन गरेकोमा प्रभू बैंकले ६४ करोड ३१ लाख यस्तो नाफा कमाएको छ । 

वितरणयोग्य नाफा आर्जनमा स्ट्याण्डर्ड चार्टर्ड छैठौ र एनआइसी एशिया सातौ स्थानमा छन् । 

खूद नाफा र वितरणयोग्य मुनाफामा बैंकहरुबीच तुलना गर्दा टप सेभेनको लिस्टमा एनआइसी एशिया र प्रभू बैंक अगाडि बढिरहेका देखिएको छ । बाँकी बैंक यसअघिका वर्षहरुमा समेत अगाडि नै आउने गरेका थिए । 

प्रगतिको हिसाबले खूद नाफामा वर्षौदेखि बर्चश्व कायम गर्दै आएका बैंकहरुलाई एनआइसी एशियाले निकै कडा चुनौति दिइरहेको देखिएको छ । 

योसँगै प्रभू बैंकको प्रगति समेत उत्साहप्रद देखिएको छ । 

पहिलो त्रैमासको जस्तो प्रगति कायम राख्न सके भने भोलिका दिनमा एनआइसी एशियाले टप बैंकलाई टक्कर दिने स्पष्ट देखिएको छ भने प्रभू बैंकको प्रयास पनि निकै आक्रामक देखिएको छ । 

पहिलो त्रैमासको वित्तीय विवरण हेर्दा डिपोजिटमा एनआइसी एशिया पहिलो नम्बरमा देखिएको छ भने यो बैंकको इपीएस पनि निकै राम्रो छ । 

डिपोजिटतर्फ प्रभू बैंकको प्रगति समेत उत्साहप्रद छ । एनआइसी एशिया र प्रभू बैंकको इपीएसतर्फको स्थान तथा प्रगति समेत निकै राम्रो ढंगले सुधार भएको देखिएको छ । 

बजार मूल्यको हिसाबले समेत अन्य बैंकलाई टक्कर दिइरहेको एनआइसी एशियाले निकट भविष्यमै आफूलाई अझै अगाडिको स्थानमा ल्याउनसक्ने आधारहरु पहिलो त्रैमासको वित्तीय विवरण स्पष्ट देखाएको छ भने प्रभू बैंकको हिँडाई समेत सही बाटोमा छ भन्ने वित्तीय विवरणको अध्ययनबाट बुझ्न सकिन्छ ।