काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खूद नाफा पनि घटेको छ । यो अवधिमा पोखरा फाइनान्सले १ करोड ४८ लाख नाफा कमायो, जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १ करोड ६४ लाख थियो । 

यो फाइनान्सले समीक्षा अवधिमा बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गर्न सकेन । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड ९९ लाख रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा २ करोड ७८ लाखमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा फाइनान्सले ३ अर्ब ८० करोड निक्षेप संकलन गरी ३ अर्ब ५३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो फाइनान्सले ३ अर्ब ८ करोड निक्षेप संकलन गरी २ अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो । 

फाइनान्स कर्मचारी खर्च ८८ लाखबाट बढेर १ करोड २८ लाख पुुगेको छ भने अन्य संचालन खर्च पनि ५९ लाखबाट वृद्धि भई ८८ लाख माथि पुुगेको छ । खर्चलाई नियन्त्रणमा राख्न नसक्दा समेत नाफामा संकुचन आएको देखिन्छ । 

बित्तीय संस्थाहरुको महत्वपूर्ण सूचक रिजर्ब कोषमा फाइनान्सले कमालको प्रगति गरेको छ । एकसय प्रतिशत भन्दा बढीले रिजर्ब कोष बढाई ४२ करोड ५३ लाख पुर्याएको हो । अघिल्लो आबको यही अवधिमा रिजर्ब कोषमा २१ करोड ३ लाख मात्र थियो । 

समीक्षा अवधिमा फाइनान्सले खराब कर्जालाई समेत घटाएको छ । अघिल्लो आबको यही अवधिमा २.१६ प्रतिशत रहेको खराब कर्जालाई घटाएर १.३३ प्रतिशतमा झार्न फाइनान्स सफल भएको हो । 

यो अवधिमा पोखरा फाइनान्सका वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ९.०८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.२२ गुणा कायम भएको छ ।