काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी माइक्रोफाइनान्सको नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा २ करोड ७ लाख नाफा आर्जन गरेको यो कम्पनीले समीक्षा अवधिमा भने १ करोड ८१ लाख मात्र नाफा कमायो । 

यो अवधिमा कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ६ करोड ५४ लाख रहेको यस्तो आम्दानी बढेर ८ करोड ११ लाखको उचाईमा पुुगेको छ । 

यस्तै, ८ करोडको हाराहारीमा रहेको संचालन नाफा बढेर ११ करोड १४ लाखको उचाईमा पुुगेको छ । 

कर्मचारी खर्च र अन्य संचालन खर्च नियन्त्रण गर्न नसक्दा नाफा घटेको देखिएको छ । यस्तै, अचाक्ली ब्याज खर्चले समेत यो कम्पनीको नाफामा हिट गरेको देखिन्छ । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्स कम्पनीले ५३ करोड ५३ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ६१ करोड सापटी लिई २ अर्ब १ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २७ करोड ९२ लाख निक्षेप संकलन गरी तथा १ अर्ब २२ करोड सापटी लिई १ अर्ब २४ करोड बढी कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको नाफामा झिनो गिरावट आए पनि रिजर्ब कोषमा भने कमालको प्रगति गरेको छ । अघिल्लो वर्ष रिजर्बमा ४ करोड २२ लाख रहेकोमा समीक्षा अवधिमा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीमा खराब कर्जा थप बढेको छ । अघिल्लो वर्ष १.३८ प्रतिशत रहेको यस्तो कर्जा बढेर २.३३ प्रतिशत पुुगेको छ भने ६.२६ प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर ९.६० प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २५.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.५० गुणा र तरलता अनुपात १५.६५ प्रतिशत कायम भएको छ।