काठमाण्डौ । गत भदौ १३ गते मंगलबारका दिन नर्भिकको आकस्मिक कक्षमा प्रारम्भिक उपचारका क्रममा एक १६ महिने नाबालिका–भिक्टोरी आचार्यको निधन भएको बिषयमा नर्भिक इन्टरनेशनलले प्रष्टीकरण दिएको छ । 

घटनाको यथार्थलाई तोडमोड गरी नर्भिकको बिषयमा दुुष्प्रचार गरिएको भन्दै अस्पताल प्रशासनले आपत्ति प्रकट गरेको छ । 

‘राज्यको चौथो अंगको भूमिकामा रहेको सञ्चार जगतले घटनाबारे सत्य–तथ्य नबुझी, लहडका भरमा, एकतर्फी, कपोलकल्पित एवम् भ्रामक समाचार सम्प्रेषण गर्दा सभ्य समाजमा त्यसको सन्देश के जान्छ भन्ने जिम्मेवार मिडियाले सोच्नुपर्ने हो ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बालिकाको उपचारमा अस्पतालको कुनै कमजोरी भएको छैन ।’ 

ती बालिकालाई गत मंगलबार बिहान १०ः०० बजेतिर नर्भिकको आकस्मिक कक्षमा पुर्याईँदा निजको अवस्था अत्यन्तै जटिल रहेको, बालिकाले सास फेर्न नसकिरहेको, शरीरमा प्राणवायु (अक्सिजन)को मात्रा अत्यन्तै कम रहेको र असामान्य रुपमा प्राणवायुको मात्रा तलमाथि भइरहेको देखिएको र मुटुको धड्कन पनि असामान्य अवस्थामा पाइएको अस्पतालले जनाएको छ । 

‘आकस्मिक कक्षमा पुर्याउने बित्तिकै बिरामीलाई सर्वप्रथम Resuscitation लगायतका जीवन बचाउका उपायहरु अबलम्वन गरियो ।’ विज्ञप्तिमा भनिएको छः तत्पश्चात् पनि बिरामीको अवस्थामा सुधार नआउँदा सम्बन्धित अभिभावकको सहमति लिई बिरामीलाई intubation गरिएको हो । 

बिरामीलाई हस्पिटलको आकस्मिक कक्षमा पुर्याउँदा मुटुको धड्कन साह्रै उच्च रहनु, श्वास–प्रश्वासमा जटिलता देखिनु आदिका कारण बिरामीको श्वास–प्रश्वास कुनै पनि बेला रोकिने अस्वथा रहेका, त्यसमाथि पनि जीवन बचाउका प्रारम्भिक उपायहरुले काम नगरेको अवस्थामा intubation गर्नुको कुनै विकल्प नरहेको अस्पतालको प्रष्टोक्ति छ। आकस्मिक कक्षका सबै चिकित्सकहरुको प्रारम्भिक प्रयास र उपचारमा संलग्न बालरोग विशेषज्ञहरुको अथक प्रयासका बाबजुद पनि बिरामीको जीवन बचाउन नसकिएकोमा अस्पतालले दुःख व्यक्त गरेको छ । 

बिरामीलाई हस्पिटल पुर्याइएको दिनभन्दा ५ दिन पूर्वदेखि नै रुघाखोकीको ज्वरो आएकोले कुनै बालचिकित्सकको निजी क्लिनिकमा लगी औषधोपचार गराइनु र रोगका लक्षण कम नभएकोले पुनः उक्त क्लिनिकमै फलोअपमा लगिनु, समयमै हस्पिटल नपुर्याइनु र रोग अत्यन्त जटिल भई अन्तिम अवस्थामा मात्रै हस्पिटल पुर्याउने कमजोरीलाई अस्पतालले घटनाको मुख्य कारण पनि भनेको छ । ‘आकस्मिक कक्षमा पुर्याउँदा साथ गरिएको बिरामीको प्रारम्भिक परीक्षणमा समेत बिरामी अत्यन्तै जटिल अवस्थामा मात्रै हस्पिटल पुर्याइएको प्रमाणित गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ–‘त्यसबखत बिरामीमा कडा निमोनियाका कारण जटिल श्वास–प्रश्वास समस्या र कडा संक्रमण भएको, श्वेत रक्त कोषिका केवल १०७० मात्रै थियो ।’

बिरामीलाई आकस्मिक कक्षमा नपुर्याइँदै सम्बन्धित अभिभावक बाटैबाट अत्यन्तै आत्तिएको अवस्थामा देखिनु आदि के सामान्य बिरामी हस्पिटल ल्याउँदै गर्दाको अवस्था हो ? भन्ने प्रश्न गर्दै अस्पतालका संस्थागत संचारतर्फका नायव महाप्रबन्धक आरपी मैलानीले विज्ञप्ति जारी गर्दै भनेका छन्–‘अर्कोततर्फ  कुनै अर्को बाल अस्पतालबाट एम्वुलेन्स आइसक्दा पनि बिरामीलाई नपठाइएको र ठूलो पाइप मुखमा छिराई मृत्यु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको जानकारी गराउँदछौं । त्यस्ता समाचार सम्प्रेषण गर्नुपूर्व हस्पिटल प्रशासन र तत्सम्बन्धित चिकित्सकसँग पनि जानकारी लिई दिनुहुन सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीहरूमा विनम्र अनुरोध गर्दछौं ।’