काठमाण्डौ । लगानीयोग्य रकमको चरम अभाव खेपिरहेका बैंक तथा बित्तीय संस्थाहरु निक्षेप तान्नका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्ने बग्रेल्ती सुविधा र अफरहरु सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका छन् । तरलता अभावका कारण कर्जा बिस्तार गर्न नसक्ने अवस्था भएपछि एकले अर्कालाई उछिन्दै नयाँ–नयाँ अफर सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय निक्षेप तानातानको निकै रोचक लिगलिगे दौड चलिरहेको छ ।

केही समयअघि नेपाल बैंकर्स संघ(एनबिए)ले देशका २८ वाणिज्य बैंकहरुबीच मुद्धती खातामा अधिकतम ११ प्रतिशत र साधारण बचतमा ८ प्रतिशत ब्याज दिने सहमति गरेका थिए । त्यसको केही समयमा एनआइसी एशियाले मुद्धतीमा १२ र साधारण खातामा १० प्रतिशत ब्याजको अफर सार्वजनिक गरेपछि एनबिए र ऊसँगको द्वन्द्वले बैकिङ क्षेत्र तात्यो । यो बिषय केही समयपछि व्यवस्थापन भए पनि नवील बैंकले घुमाउरो ढंगले लगानीकर्तालाई मुद्धती खातामा करिब साढे १२ प्रतिशतसम्मको ब्याज पाउने अफर सार्वजनिक गरेपछि बैंकहरुबीचको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । मुद्धती बचतमा ११ प्रतिशतको दरले अग्रिम ब्याज भुक्तानीको अफर सार्वजनिक गरेको बिषयमा एनबिए नबोलेपछि यसको समेत आलोचना भएको छ । 

अर्कोतर्फ, एनबिएलाई समेत चुनौति दिंदै घुमाउरो ढंगले नवीलले नयाँ खालको अफर सार्वजनिक गरेपछि एनबिएबाट सबैभन्दा धेरै पीडित एनआइसीले समेत नवीलले भन्दा निकै धेरै सुविधासहित नवीलको भन्दा एड्भान्स अफर सार्वजनिक गरेको छ । त्यसअघि अन्य बैंकहरुले समेत खाता खोल्दा दुुर्घटनाबिमादेखि लिएर विभिन्न सुविधा तथा बैकिङ प्रडक्टहरुमा छुटको अफर समेत सार्वजनिक गरेका थिए । 

पछिल्लो समय प्रतिस्पर्धामा उत्रिएका वाणिज्य बैंकहरुमध्ये लगानीकर्ताले सबैभन्दा धेरै सुविधा भएको बैंकमा गएर भएको पैसा मुद्धतीमा जम्मा गर्न सक्छन् । पछिल्लो समय सार्वजनिक अफरमध्ये एनआइसी एशिया बैंकको अफर सबैभन्दा आकर्षक देखिएको छ । 

एनआइसी एशियामा गज्जबको अफर
एनआइसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको हो । यस योजनाअन्तरगत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली खाता खोलेकै दिनमा ११  प्रतिशतको वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआइसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा पाउन सकिने अफर सार्वजनिक गरेको छ ।

यस मुद्दती योजनाअन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाका लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्नसक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाखसम्मको दुर्घटनाबीमा पनि बैंकले नै गरिदिनेछ । 

नवीलमा पनि यस्तो अफर
नवील बैंकले अग्रिम ब्याज भुक्तानी गर्ने गरी नयाँ मुद्धती खाताको स्किम ल्याएको हो । जसमा वार्षिक ११ प्रतिशतको दरले अग्रिम ब्याज दिनेछ । खाता खोलेकै समयमा एकवर्षको ब्याज भुक्तानी गर्ने भएकोले ब्याजको रुपमा पाएको रकममा पाइने ११ प्रतिशतकै दरको ब्याज जोड्ने हो भने यो बैंकले साढे १२ प्रतिशतको हाराहारीमा ब्याज पाउने अवस्था सिर्जना गरिदिएको देखिन्छ। 

बैंकको अग्रिम ब्याज पाउने खाता खोल्नका लागि कम्तिमा ५ लाख रुपैयाँ चाहिन्छ। बैंकले दुई बर्षसम्मको निक्षेप स्वीकार्ने जनाएको छ। निक्षेप आकर्षित गर्नका लागि बैंकले अग्रिम ब्याज भुक्तानीको स्कीम ल्याइएको प्रष्ट्याएको छ ।

जनता बैंकमा झनै गज्जब अफर
जनता बैंकले नयाँ निक्षेप खाता योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधासहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याइएको बैंकले जनाएको छ । 

जनता सुरक्षा बचत खाताका विशेषताहरु यसप्रकारका छ:

  • न्यूनतम निक्षेप रु. १०,०००। म खाता खोल्न सकिने ।
  • वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने ।
  • बचतकर्ताको रु. १० लाखसम्मको दुर्घटना बीमा गरिएको ।
  • बचतकर्ता बिरामी भई अस्पताल भर्ना हुनु पर्दा रु. १ लाखसम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा रु. ५,०००। सम्मको उपचार खर्चको बीमा गरिएको ।
  • बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको ।
  • अन्य खाताहरुमा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैकिङ, मोवाइल बैकिङ र सीआस्वा सुविधा रहेको ।

एनआइसीमा कति धेरै छुट ?
एनआइसी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने लगायत बग्रेल्ती सुविधा यस खातामा राखिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यसैगरी, यो खातामा निशुल्क भिसा डेबिट कार्डरक्रेडिट कार्डरमोबाइल बैकिङ्ग सेवारडिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशतसम्म छुट समेत प्रदान गरिने बताइएको छ । 

मासिक रुपमा औसत रु १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने समेत बैंकले जनाएको छ । 

त्यस्तै सो खाता खोली मोबाइल बैकिङ्ग सेवा लिएपछि एनटीसी वा एनसेलको १०० रुपैया बराबरको रिचार्ज कार्ड वा टपअप समेत निःशुल्क प्रदान गरिनेछ । 

रु १००० न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने र ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

साथै, यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ भने ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले प्रष्ट पारेको छ ।

लक्ष्मीमा यस्तो अफर
लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट” मानिंदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना रहेको बैंकले जनाएको छ । 

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मा गर्नसक्ने बैंकले जनाएको छ । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्ने बताइएको छ ।  

साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् ।