काठमाण्डौ । नेपाल एसबीआई बैंकले निक्षेप परिचालन घटेको रिपोर्ट सार्वजनिक गरेको छ । 

मंगलबार प्रकाशित बैंकको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप परिचालन घटेको हो ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ८५ अर्ब ४६ करोड निक्षेप संकलन गरेकोमा समीक्षा अवधिमा घटेर ८३ अर्ब ८४ करोडमा सीमित बन्न पुगेको हो ।

यो बैंकले नाफामा भने करिब २५ प्रतिशतको प्रगति गरेको छ। ऋघिल्लो वर्ष यही अवधिमा नेपाल एसबीआई बैंकको खूद  नाफा १ अर्ब १० करोड रहेकोमा यो वर्ष बढेर १ अर्ब ३७ करोडको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष २ अर्ब १९ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ अर्ब ८९ करोडको उचाई चुमेको हो ।

बैंकको संचालन नाफा समेत १ अर्ब ७५ करोडबाट वृद्धि भई २ अर्ब २० करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७४ अर्ब ५ करोड बढीको कर्जा परिचालन गरेको देखिएको छ । अघिल्लो वर्ष ८५ अर्ब निक्षेप संकलन गरी ६१ अर्ब ७१ करोड कर्जा परिचालन गरेको  थियो ।

बैंकको निस्क्रिय कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.१३ प्रतिशत पुगेको हो । यस्तै, ३ अर्ब ११ करोड रुपैयाँमा सीमित रिजर्ब कोषको आकार बढी ४ अर्ब १५ करोडको भएको छ । 

समीक्षा अवधिमा यो बैंकले प्रतिसेयर आम्दानी २२.८६ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ  १५१.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.०६ गुणा कायम भएको छ ।