काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि निक्षेप र कर्जाबीचको असन्तुलनमा सुधार हुन सकेको छैन । अझ निक्षेपको वृद्धिदर भन्दा कर्जाको वृद्धिदर बढी छ, यसले बित्तीय असन्तुलनतर्फ संकेत गर्दछ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.१ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७५ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.६ प्रतिशतले बढेको छ । 

२०७५ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.८ प्रतिशत र ४३.४ प्रतिशत रहेको थियो । २०७५ जेठमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.२ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो । 

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ जेठमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २१.० प्रतिशतले बढेको छ । २०७५ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

२०७४ जेठमा मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.१ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले बढेको छ । 

त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.० प्रतिशतले बढेको नेपाल राष्टबैंकले जनाएको छ।