राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
 
निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा सिधा उडान शुरु गरेको छ । यसअघि अक्टोबर ३ सन् १९९४ मा निगमले ओसाका उडान शुरु गरेको थियो । सो उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको सङ्घारमा निगमले जापान सिधा उडान गरेसँगै यसले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सोही अवधिमा जापानबाट मात्रै २९ हजार ८१७ पर्यटक नेपाल आए । सन् २०१७ मा २७ हजार ३२६ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
 
जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास लिएको निगमले वार्षिक ४० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई  लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ ।
 
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले निगमको जापान सिधा उडानले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दूतावासले जापानको टोकियो, ओसाकालगायत शहरबाट जापानीलाई नेपाल गन्तव्य भ्रमणका लागि आकर्षित गर्ने प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो ।
 
सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।
 
सांसद रमेशजङ रायमाझी पनि निगमको जापान सिधा उडानले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाललाई विनास्वार्थ सहयोग गर्ने मुलुक जापानले नेपाललाई माया गर्ने भएकाले नेपालीसँगै जापानीलाई नेपाल भित्र्याउन सहयोग पुग्ने बताउनुभयो ।
 
सांसद सुदन किराँतीले राष्ट्रिय ध्वजाबाहकको काठमाडौँ–ओसाकाको उडानले आर्थिक समृद्धिको मेरुदण्डको रूपमा लिइने पर्यटन क्षेत्र र नजिकिएको भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभयो । “वाइड बडीको उडान सिधै टोकियो नारितासम्म उडान गर्न पाएको भए झनै उपयुक्त हुनेथियो, तैपनि लामो समयदेखि अवरुद्ध उडान प्रारम्भ भएको छ, यसले मुलुकको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । 
 
अर्का सांसद प्रदीप यादवको विचारमा निगमको जापान उडान सराहनीय छ, यसको व्यवस्थापनलाई थप प्रभावकारी बनाई सेवालाई निरन्तरता, गन्तव्य विस्तार र सेवा स्तरीकरणमा ध्यान दिन जरुरी छ ।
 
निगमको ओसाका उडानबाट पर्यटन व्यवसायीमा पनि नयाँ उत्साह पैदा भएको छ । बिना झन्झट सिधा र सहज उडानले जापानी पर्यटकलाई नेपाल आगमनमा सहज हुने उनीहरुको विश्वास छ । जापानी पर्यटकलाई नेपाल आकर्षण गर्ने सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायतका महत्वपूर्ण स्थल छन् । त्यसैले धेरै सङ्ख्यामा जापानी नेपाल आउने गरेका छन् । जापानीहरु जापान–काठमाडौँ सिधा उडानको प्रतीक्षामा रहेकाले निगमको सिधा उडानले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी श्यामराज थपलियाको विश्वास छ । 
 
जापानीले नेपाल र नेपालीलाई धेरै माया गर्ने भएकाले पनि सिधा उडान हुँदा नेपाल गन्तव्य घुम्न र यहाँका विविध पक्षमा रमाउन जापानी ठूलो सङ्ख्यामा नेपाल आउन सक्नेछन् ।
 
नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षको सन्दर्भमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आकर्षण गर्न निगमको सिधा उडानले सहयोग पुग्ने बताउनुभयो । उहाँले निगमको उडान सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउन प्रभावकारी बजारीकरण तथा उडानलाई निरन्तरता दिइनुपर्ने खाँचो औँल्याउनुभयो । 
 
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजालले निगमको सिधा उडान सस्तो र विना झन्झटिलो हुने तथा आफ्नै ध्वजाबाहक भएकाले शुरुआती चरणमा केही घाटा भए पनि जापानी पर्यटक नेपाल आउँदा मुलुकलाई नै फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
 
ओसाकामा विगत २६ वर्षदेखि बस्दै आउनुभएका सुनील केसीले जापान सरकारले पछिल्लो समय ओसाका पर्यटन विकासमा सम्पूर्ण ध्यान केन्द्रित गरेकोले यहाँ आउने पर्यटकलाई नेपाल आकर्षण गर्ने उपयुक्त आधार निगमको ओसाका सिधा उडान भएको उल्लेख गर्नुभयो ।
 
जापानमा करीब ११ करोड जनसङ्ख्या मध्ये ओसाकामा मात्रै दुई करोड बढी छन् । जापानमा टोकियो, ओसाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ । ती मध्ये आठ हजार ओसाकामा बस्छन् । शिक्षा, ‘हस्पिटालिटी’ तथा रेष्टुराँ व्यवसायमा काम गर्ने नेपाली धेरै छन् । नेपालीहरू जापानका पाँचतारे होटलमा ‘बेडमेकिङ’ मा काम गर्छन् । जापानमा बढी चिनियाँ पर्यटक भेटिन्छन् । ‘वाटर अफ सिटी’ को रूपमा चिनिएको ओसाकाको पुरानो दरबार ‘ओसाका क्यास्टल’ मा धेरै पर्यटक पुग्छन् । ‘अकुवारियम’ ‘दाइमारु सिंसाईबासि’ लगायत स्थान ओसाकाका पर्यटकीय क्षेत्र हुन् ।
 
निगमले हाल साताको दुई दिन शनिबार र मङ्गलबार ओसाकाको नियमित उडान गरिरहेको छ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी रु ७२ हजार ८०० र एकतर्फी रु ३७ हजार निर्धारण गरेको छ ।