काठमाण्डौ । निजी क्षेत्रले लकडाउनका कारण उद्योग व्यवसाय नै ठप्प भएको अवस्थामा आफ्ना श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने प्रष्ट पारेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले  देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न कठीन भएको प्रष्ट पारेका हुन् । 

अर्थ मन्त्रालयले यसअघि एक परिपत्र गर्दै उद्योग कलकारखानामा कार्यरत कर्मचारी तथा श्रमिकलाई सतप्रतिशत तलब दिन र तलब दिने पैसा नभए ५० प्रतिशत तलब बराबरको रकम बैंकबाट सहुलियत दरमा कर्जाको रुपमा लिन सकिने व्यवस्था गरिएको बताएको थियो । 

तर, उद्योगी व्यवसायीले सरकारको सो व्यवस्थाको कडा विरोध गरेका हुन् । 

‘श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखी उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।