काठमाण्डौ । कैयन औषधीय गुणका कारण निमको विभिन्न उद्योगमा निकै ठूलो माग छ । यस्तो अवस्थामा यदि तपाई पनि कुनै विजिनेश गर्न चाहनुहुन्छ भने निमको तेलको बिजिनेश निकै लाभदायक हुनसक्छ । यसको माग साबुन उद्योगदेखि फर्टिलाइजर उद्योग र औषधि उद्योगमा समेत उत्तिकै हुन्छ । निमका अन्य विविध उत्पादनलाई समेत बजारमा लगेर बिक्री गर्न सकिछ । जहाँसम्म निमको तेलको कुरा छ, यो उद्योगमा सुरुवातमा तपाईले १० लाख रकम ठीक पार्नुपर्ने हुन्छ । यो लगानीबाट तपाईले वर्षेनी ५ लाखदेखि ६ लाख ५० हजारसम्म नाफा कमाउन सक्नुहुन्छ ।

विभिन्न वेबसाइट तथा विज्ञहरुका अनुसार निमको तेलको विजिनेश सुरु गर्र्नका लागि १० लाख रुपैयाँ पुँजी भए पुग्छ । सुरुवातमा तपाईले ७ लाख रुपैयाँ जति पर्ने सानो मेसिन(एक्सपेलर) खरीद गर्नुपर्ने हुन्छ । यस अलावा कच्चा पदार्थ र मजदूरहरुका लागि तपाईले ३ लाख रुपैयाँ जति ठीक पार्नुपर्छ । यो मेसिनको क्षमता प्रत्येक दिन २५ किलोग्रामसम्म तेल निकाल्ने हुन्छ । लगभग एक किलोग्राम निम्बोली(निमको फल)बाट १ सय एमएल तेल पाउन सकिन्छ ।

कति हुन्छ नाफा ?
नीमको तेलको मूल्य नेपालमा प्रति क्विन्टल १३ हजार र भारतमा ८ हजार भारुसम्म रहेको छ । मूल्यमा सामान्य उतारचढाव हुन्छ । यस्तोमा यदि तपाईले प्रत्येक दिन मेसिनबाट पूर्ण क्षमतामा निमको तेल निकाल्नुभयो भने र वर्षभरमा ३ सय दिन मात्र मेसिन चलाउनुभयो भने ७५ क्विन्टल तेल उत्पादन गर्न सक्नुहुन्छ । १३ हजारलाई छाडिदिनुहोस्, बजारमा ११ हजार प्रतिक्विन्टल नै बजारमा तेल बिक्री गर्नुभयो भने पनि ८ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन आउँछ । यसमा यदि तपाईको खर्च ३ लाख रुपैयाँ राखिदिने हो भने ५ लाख रुपैयाँ तपाईको शुद्ध कमाई हुनेछ । यदि तेल उत्पादन गर्ने मेसिन माथि उल्लेख गरिएको भन्दा दोब्बर क्षमता भए तपाईले वार्षिक सहज ढंगले १० लाख बढी आम्दानी गर्न सक्नुहुन्छ ।

विदेशमा समेत उच्च माग
निमको तेलको माग नेपाल र भारतमा मात्र होइन, तेश्रो मुलुकमा समेत उत्तिकै छ । त्यसकारण तेल उत्पादन गरेर तेश्रो मुलुक निर्यात गर्न सकियो भने यसबाट झनै ठूलो फाइदा लिन सकिन्छ । उदाहरणका लागि ब्राण्डेड आयलको कुरा गर्ने हो भने तेश्रो मुलुकमा पतञ्जली आयुर्वेदले उत्पादन गरेको शुद्ध निमको तेल प्रति १ सय एमएल ४ डलरमा बिक्री हुने गर्छ । आफ्नो छुट्टै ब्राण्ड बनाएर र इन्टरनेटको भरपूर प्रयोग गरेर समेत यसको व्यापार गर्न सकिन्छ ।

पतञ्जलीमा उस्तै डिमाण्ड
पतञ्जली आयुर्वेद पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ । नेपालको वीरगञ्जमा समेत उसले उद्योग लगाउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा पतञ्जलीले नै पनि तपाईको उत्पादन लिइदिनसक्छ । पतञ्जलीमा निमको तेलको उच्च माग रहेको छ । पतञ्जली हरिद्वारका पर्चेज डिपार्टमेन्टका वरिष्ठ प्रबन्धक कञ्चन बिष्टका अनुसार अहिले पनि भारतमा उनीहरुले विभिन्न लघुउद्योगहरुबाट निमको तेल मगाउने गर्छन । ती उद्योगबाट तेल खरीद गरी त्यसलाई आफ्नो तरिकाले प्रोसेस गरेर पतञ्जलीले ब्राण्ड दिने गरेको छ । पतञ्जली आफैंले पनि यस्तो तेल बनाउँछ, तर उच्च मागका कारण अझै कमी हुने गर्छ र साना उद्योगको तेल उसले जति दिए पनि लिइदिन्छ । यस्तो तेलको बिजिनेश गर्ने कुनै पनि व्यक्तिले पतञ्जलीका नेपालस्थित र भारतका जुनसुकै सम्पर्क केन्द्रमा समेत सम्पर्क गरी  तेल बिक्री गर्नसक्ने बिष्ट बताउँछन् ।