काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स(एलजीआई)ले बोनस सेयर वितरण नगर्नुको कारण खुलेको छ । 

कम्पनीका संचालक समिति अध्यक्ष मनोहरदास मूलले साउन २९ गते काठमाण्डौमा सम्पन्न १४ औं वार्षिक साधारणसभामा बोनस सेयर वितरण गर्न नसक्नूको कारण सेयरधनीलाई भनेका हुन् । 

मूलले बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्तापूँजी पुर्याउन कम्पनीलाई रु. १२ करोड आवश्यक पर्नेमा साविककै ढाँचामा वित्तीय विवरण तयार गर्दा करिब रु. १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहे पनि यसपटक नयाँ ढाँचाअनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको प्रष्ट्याए ।

बीमा समितिको निर्देशनअनुसार रु. १ अर्ब चुक्तापूँजी पुर्याउनका लागि २०७६ बैशाख २५ गतेको साधारणसभाको निर्णयअनुसार २० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको समेत सोक्रममा उनले जानकारी दिए । 

संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भइसकेको समेत उनले जानकारी गराए । 

आ.ब. २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भई करिब रु. १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आ.ब. २०७५/०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइयो ।