काठमाण्डौ । पूँजीबजारमा अनलाइन सिस्टमको विकासका लागि भएको प्रयासमा मुद्धा परेर आएको अवरोध अदालतले फुकाएपछि र लगानीकर्ताले उठाएका मागहरुलाई सम्बोधन गर्ने नियामक निकायका अधिकारीहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेसँगै पलाएको आशाका कारण साताको अन्तिम बिहीबार बजार हराभरा भएको छ । 

बिहीबार बजार परिसूचक ३०.२३ अंकले बाउन्स ब्याक हुँदै १४४३.३८ अंकमा फर्किएको हो । लगानीकर्ताहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज घेराउ गरेपछि बजार एकाएक हराभरा भएको थियो । बिहीबार बिहानै उनीहरुले नेपाल धितोपत्र बोर्डको जाउलाखेलस्थित कार्यालय घेराउ गरी प्रदर्शन गरेका थिए । 

बुधबार लगानीकर्ताको आन्दोलनको सुरुवात भएकै दिन बजार हराभरा हुनुलाई लगानीकर्ताले सुनियोजित वृद्धिको संज्ञा दिंदै आफूहरुको आन्दोलन रोक्ने सुनियोजित रुपमा फालिएको जाल तथा ललीपपसम्मको संज्ञा दिएका थिए । उनीहरुले बिहीबार पनि यस्तै चलखेलबाट बजार बढेको हुनसक्ने भन्दै सचेत भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । आफूहरुको आन्दोलन बजार घटाउन र बढाउन केन्द्रीत नभएको दाबी गर्दै उनीहरुले आफ्ना मागको अक्षरंश कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । 

बुधबार झै बिहीबार पनि सबै उपसमूहको परिसूचक हराभरा भयो । तर बिहीबारको वृद्धि बुधबारको तुलनामा निकै उत्साहजनक छ । यो दिन नेप्से परिसूचकसँगै कारोबार पनि बढेको छ । बजारमा सेयर खरीद गर्नेहरुको चाप बढेको देखिएको छ । 

साताको अन्तिम कारोबार दिन बिमा, होटल र वाणिज्य बैंक समूहले छलांग मारेका छन् । बिमा समूह २८६.६८ अंकले बढेको छ भने होटल समूहमा ५५.६७ र वाणिज्य बैंक समूहमा २८.७ अंकको बढोत्तरी भएको छ । विकास बैंक र बित्त समूह क्रमशः २०.३३ र २१.७८ अंकले बढेका छन् । 

जलविद्युत र अन्य समूहमा क्रमशः १०.९७ र १.७३ अंकको बढोत्तरी भएको छ । 

सेन्सेटिभ इण्डेक्स ६.७ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा २.२६ अंकको वृद्धि देखिएको छ।

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बुधबारको तुलनामा कारोबार रकम पनि बढेको छ । यो दिन १ सय २६ कम्पनीको १० लाख ५६ हजार ५ सय ९ कित्ता सेयर ५६ करोड ६४ लाख बढीमा किनबेच भएको छ । 

वाणिज्य बैैंकहरुले २१ करोड ७४ लाख बढीको कारोबार गरेका छन् । बिमा कम्पनीको २२ करोड ५१ लाखको सेयर किनबेच भएको छ भने विकास बैंकहरुले ३ करोड ८९ लाखको मात्र कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ७६ लाखको गरेको छ । एफपीओ निश्कासनको अनुुमति पाएलगत्तै यो कम्पनीको सेयरमा आकर्षण देखिएको हो । यस्तै विदेशी साझेदार भित्र्याउने मार्ग प्रशस्त भएपछि बिहीबार पनि नेपाल टेलिकमले बजारमा राम्रो प्रभाव जमाएको छ । यो कम्पनीको कुल ३ करोड ९९ लाखको सेयर किनबेच भयो। 

बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले २ करोड ५८ लाख, एभरेष्ट बैंकले २ करोड ५८ लाख, एनबी इन्स्योरेन्सले २ करोड ३४ लाख, चिलिमे हाइडोले १ करोड ९५ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा बिमा कम्पनी, ३ स्थानमा वाणिज्य बैंक, एक स्थानमा जलविद्युत कम्पनी र बाँकी एक स्थानमा अन्य समूहको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बढ्दो बजारमा २ कम्पनीले पैसा छापे । एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो भने यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतको हाराहारीले बढ्यो । प्रूूडेन्सियल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको लगानीकर्ता पनि मालामाल भए । यी दुुईको सेयर मूल्य क्रमशः ७.३८ र ७.३६ प्रतिशतले वृद्धि भयो । 

बिहीबार सबैभन्दा बढी ललितपुर फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.२० प्रतिशतको पहिरो गयो ।