-राजु पौडेल
लामो राजनीतिक संक्रमणकालको अन्त गर्दै नेपालले अहिलेसम्मकै शक्तिशाली दुईतिहाई बढी बहुमतप्राप्त स्थिर सरकार पाएको छ । तर, अर्थतन्त्रको ऐना मानिने सेयर बजार नयाँ सरकारका प्रधानमन्त्री केपी ओलीको नियुक्ति भएकै दिन ३६ अंकले बढेको थियो भने त्यस यताका दिनमा निरन्तर ओरालो लागिरहेको छ । अहिले बजार घट्दा ३०–४० अंकले घट्ने, तर बढ्दा ५–७ अंकले मात्र बढ्ने अवस्था देखिएको छ । सेयर बजारको यो अवस्था देखेर धेरै लगानीकर्ताहरुमा निराशा छाएको छ भने कतिपय लगानीकर्ता बजारको यो हालत देखेर सस्तोमा सेयर बेचेर बजारबाट पलायन भइरहेका छन् ।

धेरै लगानीकर्ताहरुलाई लागेको थियो–चुनावपछि र नयाँ स्थिर बलियो सरकार बनेपछि बजार पक्कै पनि बढ्छ भनेर अहिलेसम्मको इतिहासलाई हेर्दा पनि चुनावी वर्षमा बजार बढेको देखिन्छ, तर यसपटक इतिहासमा सबैभन्दा बलियो र स्थिर सरकार त्यो पनि बजारप्रति सकारात्मक विचार राख्ने व्यक्ति केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि  बजार निरन्तर ओरालो लागिरहेको छ । 

नयाँ र स्थिर सरकार बनेपछि पक्कै पनि सेयर बजारमा सकारात्मक असर पर्नेछ भन्ने कुरा धेरै लगानीकर्ताले सोचेका थिए, तर नयाँ सरकार बनेपछि विभिन्न बहानाबाजीमा  सेयर बजारका माफियाहरुले बजारलाई निरन्तर घटाउन सफल भएका छन्, कहिले बामपन्थीको सरकार सेयर बजार प्रतिकूल हुनेछ । बिदेश सहयोग आउने छैन भन्ने हल्ला फिजाएर तथा कहिले नयाँ अर्थमन्त्री सेयर बजारप्रति अनुदार व्यक्ति हुन् भन्ने बहानामा कहिले बीबीसीमा नवनियुक्त अर्थमन्त्रीले सेयरबजार अनुत्पादक क्षेत्र भने भन्ने हल्ला फिजाएर बजार घटाउने काम गरिँदै आएको छ । यस्ता हल्ला फिजाएर बजार घटाउँदा क्षणिक रूपमा केही सेयरमाफियाहरुलाई फाईदा भएतापनि दीर्घकालमा कुनै पनि लगानीकर्ताहरुको हित गर्दैन । यस्ता हल्ला फिजाएर बजार घटाउने प्रवृतिले हाम्रो पुँजी बजार धेरै पछाडि पर्नेछ । अनावश्यक रूपमा चलाइने यस्ता हल्लाहरुले मुलुकको पुँजी बजारको विकास र विस्तारमा बाधा पुुग्नेछ ।

सेयर बजारको आधारभूत पक्षको विश्लेषण गर्नुभन्दा पनि हल्लाको पछाडि लागेर सेयर खरिदबिक्री गर्ने जमातको संख्या ज्यादै छ । यस्तै, सेयर माफियाका हल्लाका पछाडि लाग्दा लगानीकर्ताहरुले एकै दिनमा ४७ अर्ब सम्पत्ति गुमाएको अवस्था पनि आउन थालेको छ । 

त्यसकारण कुनै पनि लगानीकर्ताहरु सेयर बजारमा माफियाहरुले चलाएको हल्लाको पछाडि लागेर दौडनुभन्दा पनि आफूले लगानी गरेको कम्पनीको पछाडि लाग्ने गर्नुपर्छ । नेप्सेको अंक कतिले घट्यो, बढ्यो भनेर चिन्ता गर्नुभन्दा पनि आफूले लगानी गरेको कम्पनीले यो बर्ष कति अंकको प्रतिफल दिनसक्छ भन्ने कुरामा अध्यन अनुसन्धान गर्नतर्फ लाग्नुुपर्छ । बजारमा सेयरमाफियाहरले फैलाएको हल्लाको पछाडि दौडेर समय र श्रमको बर्बादी गर्नुभन्दा पनि आफूले लगानी गरेको कम्पनीको बित्तीय अवस्था कस्तो हँुदैछ ? दोस्रो त्रैमासिक प्रतिवेदन कस्तो आयो ? तेस्रो त्रैमासिक प्रतिवेदन कस्तो आउँदैछ ? कम्पनीको दायित्व र सम्पत्तिको अवस्था कस्तो छ ? कम्पनीले कस्तो क्षेत्रमा पुँजी लगानी गरेको छ ? कम्पनीको संचालक समिति र कार्यकारी प्रमुखले कम्पनीलाई कता लाग्दैछ ? आदि इत्यादि कुराहरु बढी चासो दिने गरौं । 

विकसित देशको पुँजी बजारमा राम्रा कम्पनीको सेयर मूल्य नेप्से बढ्दा राम्रो बढेको हुन्छ भने नेप्से घट्दा पनि त्यति मूल्य घटिरहेको हुँदैन, तर हाम्रो बजारमा नेप्से बढ्दा जस्ता नराम्रा कम्पनीको पनि मूल्य बढ्ने र नेप्से घट्दा जति राम्रा कम्पनीको पनि मूल्य घटिरहेको हुन्छ । यसबाट के देखिन्छ भने हामी लगानीकर्ताहरुले कम्पनीको आधारभूत पक्षको अध्ययन नगरी हल्लाको भरमा सेयरमा लगानी गरिरहेका छौ ।

अहिले निरन्तर बजार घट्नुको प्रमुख कारण बामपन्थी सरकार सेयर बजारप्रति प्रतिकूल हुन्छ र नयाँ अर्थमन्त्री बजारप्रति अनुदार हुन् भन्नू सेयर माफियाहरुको बजार अझ घटाउने खेल मात्र हो । यो बजार त विगत डेढ बर्षयता निरन्तर घटिरहेको छ, जतिबेला हामी मात्र यो देशका प्रजातान्त्रिक शक्ति हुँ भन्नेहरुको सरकार थियो, त्यतिबेला पनि बजार निरन्तर घटिरहेको थियो । त्यही भएर अहिलेको बजार घटाई बामपन्थी सरकार भएर वा सेयर बजारप्रति अनुदार अर्थमन्त्री भएर होइन कि हाम्रा बजारका नियामक निकायका प्रमुख निकम्मा र अदुरदर्शी भएर हो । जब राष्ट्रबैंकले वाणिज्य बैंकलाई एकैपटक दुई अर्बबाट आठ अर्ब र विकास बैंकलाई दुई अर्ब पचास करोड चुक्ता पुँजी पुर्याउनुपर्ने निर्देशन गर्यो भने अर्कोतिर बिमा समितिले पनि जीवन बिमा कम्पनीलाई दुई अर्ब र निर्जिवन बिमा कम्पनीलाई एक अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने बाध्यकारी नियम ल्यायो, तब बैंक तथा बिमा कम्पनीहरुले चुक्तापुँजी पुर्याउने नाममा अत्यधिक मात्रामा हकप्रद, बोनस सेयर र एफपिओ निकाले र निकाल्ने काम निरन्तर छ, तब बजारमा सेयरको आपूर्ति अत्यधिक हुन गयो । जब कि राष्ट्रबैंक र बिमा समितिले हकप्रद सेयरलाई कडाइ गरेर मर्जरबाट चुक्ता पुँजी पुर्याउनुपर्ने भन्ने बाध्यकारी निर्देशन गर्नुुपथ्र्यो, यसमा उनीहरु चूके । 

नियामक निकायले समस्या सिर्जना गरेर छाडे । सेयरको अधिक आपूर्तिलाई खपत गर्न आवश्यक संयन्त्रको विकास नगरी रमिता हेरेर बसिरहेका छन् । जब कि सेयरको आपूर्ति अत्यधिक भएपछि नेपाल अधिराज्यभरि सेयर बजारलाई पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिने कामको पहल राष्ट्रबैंकले गर्नुपथ्र्यो । नेपालको सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेप्से र धितोपत्र बोर्डको पहलमा अहिलेसम्म अनलाईन ट्रेडिङको सुरुवात भइसक्नु पथ्र्यो । 

त्यसैगरी, नेपाली पुँजीबजारलाई व्यापक विकास र विस्तार गर्न गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण मिलाउने काम गर्नुपथ्र्यो । हाम्रो अस्थिर प्रकृतिको बजारलाई स्थिर बनाउन विभिन्न कोषहरुलाई बजार निर्माताको रुपमा भित्राइसक्नु पथ्र्यो । 

काठमाण्डौ उपत्यकाभित्र मात्र रहेका ५० वटा ब्रोकरहरुलाई देशका सबै स्थानीय निकायसम्म पुर्याउने काम गर्नु पथ्र्यो, यस्ता कामका लागि हाम्रा चार निकम्मा निकायका प्रमुखहरुलाई दबाब दिनु छैन, अनि यता बामपन्थी सरकार आएर अनुदार अर्थमन्त्री भएर सेयरबजार घट्यो भन्दै रोईकराई गरेर मात्र हाम्रो बजार बढ्दैन ।

बजार घट्नुको अर्को कारण अहिले बैंकहरुमा देखिएको तरलताको समस्या पनि हो । अहिले बैंकहरुले हामीसँग लगानी गर्ने पैसा छैन भन्दै निक्षेप संकलन गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गर्दै बचतमा १० प्रतिशतसम्म मुद्दतीमा १२ देखि १३ प्रतिशतसम्म ब्याज दिएर बचत संकलन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । केही दिनअघि यही समस्याले बैंकर संघ र एनआईसी बैंकबीच द्वन्द्वको अवस्था पनि सिर्जना भयो । जब बैंकको ब्याजदर उच्च हुन्छ, तब सेयर बजार घट्छ, जब बैंकको ब्याजदर न्यून हुन्छ, तब सेयर बजार बढ्छ । ब्याजदर र सेयर बजारको सम्बन्ध विपरीत हुन्छ । तरलताको समस्याले गर्दा सेयरकर्जाको ब्याजदर १५–१६ प्रतिशत पुगेको अवस्था छ । ठूला लगानीकर्ताहरुले बैंकबाट करोडौं कर्जा लिएर सेयरमा लगानी गर्ने वातावरण पनि अहिले छैन, त्यस कारण पनि बजार अहिले घटिरहेको छ । तरलताको समस्या समाधान गर्ने मुख्य दायीत्व राष्ट्रबैंकको हो, तर ऊ निकम्मा जस्तै भएर बसेको छ । यो कारणले पनि अहिले बजार निरन्तर घटिरहेको छ, अर्कोतिर ठूला लगानीकर्ताहरु अहिलेको बामपन्थी सरकारले कस्तो आर्थिक नीति र कार्यक्रम ल्याउने हो भनेर पर्खेर बसेका छन् । 

अहिलेको बजारलाई थामेको भनेको नवप्रवेशी नयाँ र साना लगानीकर्ताहरुले हो । बजारमा दिनका दिन करोडौं बोनस र हकप्रद सेयर आउने क्रम जारी छ, तर यो अत्यधिक सेयर आपूर्तिको व्यवस्थापन गर्ने संयन्त्रको विकास नियामक निकायले नगर्दा यस्तो समस्या बजारमा देखिएको छ । 
अहिले बजारमा नयाँ हजारौं लगानीकर्ताहरु भित्रिएका छन् र यो क्रम जारी छ । तर, बजारमा दिनप्रतिदिन बढेको अत्यधिक सेयर आपूर्ति ठूला लगानीकर्ता बजारबाट बाहिरै रहेर पर्ख र हेरको रणनीतिमा बस्दा बजारमा जति नयाँ लगानीकर्ता भित्रिए पनि बजार बढ्ने अवस्था रहेन । समुन्द्रको पानी गाग्रीमा उठाएर सक्छु भनेजस्तै अवस्था अहिले बजारमा देखिएको छ ।

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री बन्नु अगाडि ओलीले सेयर बजारको बिषयमा जुन प्रतिबद्धता व्यक्त गरेका थिए , उनको नेतृत्वमा नयाँ स्थिर सरकार गठन भएको यति लामो समयसम्म पनि सरकारले सेयर बजारलाई कुनै सम्बोधन नगरेको हुनाले बामपन्थी सरकारसँग ठूला लगानीकर्ताहरु झस्किएका हुन कि भन्ने जस्तो पनि देखिएको छ । 

स्थिर सरकारको एक मात्र लक्ष्य आर्थिक समृद्धि रहेको भनिएको छ । दलहरुबीच समृद्धि र तीव्र गतिको आर्थिक विकासमा दुुईमत छैन । यो सरकारले वैदेशिक सहायतालाई राष्ट्रिय स्वार्थ अनुकूल प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने योजना बनाएको छ । दोहोर अंकको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य सरकारले लिएको छ । नयाँ–नयाँ उद्योग खोलेर रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा व्यापक कटौती गर्ने लक्ष्य छ । हजारौं मेगावाट विद्युत उत्पादन गर्ने योजना छ, ठूला परियोजना निर्माण गर्ने लक्ष्य छ  । यस्ता महत्वाकांक्षी योजना सफल तुल्याउन र सेयर बजारमा लगानीको दायरा बढाउन विस्तारै वास्तविक क्षेत्रलाई पनि सेयर बजारमा भित्राउने प्रतिबद्धता यो सरकारले गरेको छ । यस्ता महत्वकांक्षी योजनाहरु पूरा गराउन मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको बागडोर सुम्पिएका छन् । डा. खतिवडाले समेत ओलीको विश्वासलाई टुक्रन दिने छैनन् ।  

यो सरकारका महत्वकांक्षी आर्थिक उद्देश्य प्राप्तिका लागि अत्यधिक मात्रामा पुँजी परिचालन गर्नुपर्ने अवस्था छ, पुँजी परिचालनको प्रमुख थलो भनेको सेयर बजार मात्र हो । बामपन्थी सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार प्रतिकुल हुने आर्थिक नीति र नियम कुनै पनि हालतमा ल्याउने छैनन् ।

अबको देशको अवस्था अपवादमाबाहेक सकारात्मकै छ । यति बजारप्रति अनुकुल वातावरण आउँदै गरेको अवस्थामा पनि सेयर बजारका माफियाहरुले अनावश्यक हल्ला फिजाएर एकपटक बजारलाई अझै तल्लो बिन्दुमा झारेर सस्तोमा सेयर उठाउने दाउ गर्दैछन् । यस्ता माफियाहरुले फैलाएका हल्लाका पछाडि लाग्दै नलाग्नुहोस्, आगामी दिनमा नेपालको सेयर बजारको भबिष्य एकदमै स्वर्णिम छ । यो अवस्थामा हल्लाका पछाडि नलागी राम्रा कम्पनीको वित्तीय अवस्था केलाएर, बरु सस्तो मूल्यमा आएका राम्रा कम्पनीका सेयर थोरै थोरै खरिद गर्दै जानुहोस् । कुरा अरुका पनि सुन्नुहोस् तर निर्णय आफैं गर्नुहोस्, यत्ति गर्न सके सेयरमा गरिएको सानो लगानीले भविष्यमा तपाईलाई मालामाल बनाइदिनेछ ।