-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल  धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी मुख्य भिलेन भएकै कारणले भारित औसत लागत विधिको समस्या हल हुन नसकेको रहस्य खुलेको छ । 

गत वर्ष उदाएको लगानीकर्ता दवाब समूहका नेता कार्यकर्ताले उनको घर घेराउदेखि कर्तुत भण्डाफोर गर्नेसम्मको प्रयासपछि आजित र क्रोधित बनेका  गिरीले नै चालू बजेटमा भारित औसत लागत विधिको गलत अभ्यासको सुरुवातका लागि अर्थमन्त्रालयमा रिपोर्टिङ गरेका स्रोतहरु दाबी गर्छन्  । 

यति मात्र हैन, सो दवाब समूहका अधिकांश नेताको सम्पत्तिको स्रोत छानबिनका लागि नेप्सेसँग फाइल मगाएर आन्तरिक राजश्व विभागमा समेत गोप्य सूचना दिएको बिजशाला स्रोतको भनाई छ। 

गिरीले अघिल्लो वर्ष पनि लाभकरको विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए । मिडियामा ‘कर तिर्नैपर्छ’ भन्ने खालको अभिव्यक्ति दिएपछि उनी लगानीकर्ताको निशानामा परेका थिए । त्यसपछिदेखि नै बजार विकास र बिस्तारमा उनको भूमिका लगानीकर्तालाई अनाहकमा दुःख दिने र माथिल्लो निकायका उच्च अधिकारीहरुलाई रिझाएर आफू बोर्डको आगामी अध्यक्ष बन्ने खालको रहेको उनी निकट स्रोतले जनाएको छ । 

यो विषयमा हामीले गिरीलाई पनि सोध्ने प्रयास गरेका थियौं । तर, उनी सम्पर्कमा आउनै चाहनेन् । 

प्रवक्ता गिरी पूजीबजारसँग सम्बन्धित ठूला सेटिङ्ग र आफू भावी अध्यक्ष हुने होडमा पछिल्लो समय मिडियाबाट टाढा भएको आरोप समेत लाग्न थालेको छ ।

स्रोतले भन्यो–‘गिरी हाल अर्थमन्त्रालय निकट रहेर आफू अध्यक्ष हुने ध्याउन्नमा लाग्दा बोर्ड भद्रगोल र विकृत संस्थामा परिणत हुँदैछ।’

विगतमा पनि प्रवक्ता गिरीलाई लगानीकर्ताको एक झुन्डले थप्पड हान्न खोजेको घटना समेत बाहिर आएकै थियो । उनले त्यसको रीस समेत अहिले पूँजीगत लाभकर गणनामा झेल गरेर पोखिरहेका स्रोतहरु दाबी गर्छन् । 

केही दिनअघि अर्थमन्त्रालयमा भएको बैठकमा भारित औसत लागत विधिको हलका लागि पनि बोर्डका गिरी मूख्य बाधक भएको ठहर गर्दै लगानीकर्ताका नेताहरू उनीमाथि जाइलागेका थिए। त्यसपछि त उनले दवाब समूहका विभिन्न नेताहरुको दैनिक सेयर कारोबारलाई समेत सुक्ष्म रुपमा नियालिरहेका स्रोतहरु बताउँछन् । 

पूँजीबजारको विकास र विस्तार भन्दा पनि गिरीको चलखेल आफ्ना स्वार्थ पूर्तिमा मात्र केन्द्रीत हुँदै आएको उनका केही भूमिकाबाट देखिने जानकार बताउँछन् । उनको फोहोरी खेलका कारण धितोपत्र बोर्ड पछिल्लो समय धराशायी बन्दै गएको छ । कारण, निरज गिरी बोर्डका प्रभावशाली कार्यकारी निर्देशक हुन् । अध्यक्षमा डा. रेवतबहादुर कार्की कार्यरत रहे पनि उनलाई चलाउने मुख्य व्यक्ति भने गिरी नै हुन् । 

भारित औसत लागत विधिका बारेमा अर्थमन्त्रालयमा गलत रिपोर्टिङ गरेका उनै गिरीकै कारण ल्याप्चे युगमा दोश्रो बजार पुगेको स्रोतहरु दाबी गर्छन् । 

भावी बोर्ड अध्यक्ष बन्न अर्थमन्त्रालयको चाकरी गर्ने बहानामा हाल जटिलतातर्फ मोडिएको ल्याप्चे युगलाई उनले लगानीकर्तासँगको प्रतिशोध र अर्थमन्त्रालयको भक्त बन्ने प्रयासमा लाग्दा अप्ठ्यारो सिर्जना भएको बोर्डका अधिकारीहरु बताउँछन् ।